जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ३० घाइते र हजारौं विस्थापित
२३ मंसिर, काठमाडौं – जापानको उत्तर–पूर्वी आइओमोरी वरपर मंगलबार राति ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परेर कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको जापानी अधिकारीहरूले जनाएका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प राति ११:१५ बजे (स्थानीय समय) गएको थियो। यसको केन्द्रविन्दु आइओमोरी तटदेखि करिब ८० किलोमिटर टाढा र करिब ५० किलोमिटर गहिराइमा रहेको पुष्टि गरिएको छ।
सुनामी चेतावनी जारी, पछि फिर्ता
भूकम्पपछि समुद्री सतह ७० सेन्टिमिटरसम्म उठेको देखिएपछि सुनामी चेतावनी जारी गरिएको थियो। केही समयपछि चेतावनी फिर्ता लिइए पनि अधिकारीहरूले समुद्री गतिविधिमा सतर्कता अपनाउन आग्रह गरेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार करिब ९० हजार मानिसलाई घरबाट सुरक्षित स्थानमा सारिएको छ। केही रेल सेवा स्थगित भएका छन् भने हजारौं घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
घटनापछि जापानकी प्रधानमन्त्री साने ताकाइचीले प्रभावित नागरिकलाई दैनिक तयारी जाँच गर्न अपिल गरेकी छन्।
“फर्निचर मजबुत राख्नुहोस् र कम्पन महसुस भए तुरुन्त सुरक्षित स्थानमा जान तयार रहनुहोस्,” उनले भनिन्।
राहत र उद्धार सञ्चालन
जापानी सरकारले प्रधानमन्त्री कार्यालयअन्तर्गत संकट व्यवस्थापन केन्द्रमा आपतकालीन प्रतिक्रिया कार्यालय स्थापना गरी उद्धार तथा राहत कार्य सुरू गरेको छ।
तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार हिगाशिदोरी र ओनागावा परमाणु केन्द्रमा कुनै समस्या देखिएको छैन। फुकुसिमा परमाणु केन्द्रमा पनि कुनै असामान्य अवस्था नभएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई जानकारी गराइएको छ।
सन् २०११ मा यही क्षेत्रमा ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएर सुनामी उत्पन्न हुँदा १८ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।
भारत विश्वको चौथो ठूलो अर्थतन्त्र: जापानलाई उछिनेपछि नयाँ शक्ति बनेर उदाउँदै
जापान विश्वकै बढी भूकम्प आउने मुलुकमध्ये एक हो। ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बर्सेनि करिब १,५०० भूकम्प जान्छन्।




तपाईंको प्रतिक्रिया