विद्युत प्राधिकरण कर्मचारी एमाले महाधिवेशनमा, नियम उल्लंघन
काठमाडौं – नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरमा कार्यरत एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावलीको उल्लंघन गर्दै नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि (मतदाता)को रूपमा भाग लिएको विषय सार्वजनिक भएको छ।
प्राधिकरणमा वरिष्ठ सहायक सिनियर मिटर रिडरको पदमा कार्यरत कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधिमा चयन भएर महाधिवेशनमा सहभागी भएकी छन्। उनी महाधिवेशनको उदघाटन कार्यक्रममा उपस्थित भएको फोटो सार्वजनिक भएपछि सरकारी कर्मचारी सेवा सर्त विनियमावलीको उल्लंघन भएको पुष्टि भएको हो।
कर्मचारी सेवा सर्त विनियमावलीको परिच्छेद १३ को नियम १३० ले कुनै पनि कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन नहुने, राजनीतिक दलहरूद्वारा सञ्चालित राजनैतिक क्रियाकलापमा सहभागी हुन नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट व्यवस्था गरेको छ।
त्यसैगरी विनियमावलीमा कर्मचारीले कुनै पनि राजनैतिक पदका लागि हुने निर्वाचनमा भाग लिन, कसैको तर्फबाट मत माग्न वा कुनै किसिमले प्रभाव पार्नेगरी राजनीतिक प्रचार प्रसार गर्न वा गराउन नपाइने उल्लेख छ।
प्राधिकरणको वितरण केन्द्रका प्रमुख हरि पाण्डेले थापालाई पार्टी राजनीति गर्नुपर्ने भए जागिर त्याग्न आग्रह गरेको र यस विषयलाई माथिल्लो निकायमा समेत जानकारी गराएपनि सुनुवाइ नभएको जानकारी दिए।




तपाईंको प्रतिक्रिया