राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाको राजीनामा
काठमाडौं, पौष ०१- राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीसँगै उनले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन्।
राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ। सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने जानकारी राष्ट्रपति समक्ष गराउँदै थापाले पद त्याग गरेका हुन्।
थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशन (२०७८) बाट खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका नेता हुन्। उनी २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट धनकुटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए।
२०७९ फागुनमा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि थापा उनको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए। सो जिम्मेवारी सम्हाल्दै आएका थापा अहिले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने उद्देश्यले राजीनामा दिएका हुन्।
राजनीतिक सल्लाहकारबाट राजीनामा र राष्ट्रियसभा उम्मेदवारीबारे प्रतिक्रिया लिन खोज्दा थापा भने सम्पर्कमा आउन चाहेनन्।
राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलहरू उम्मेदवार चयनको अन्तिम तयारीमा जुटिरहेका बेला थापाको राजीनामालाई कांग्रेसभित्रको रणनीतिक कदमका रूपमा हेरिएको छ।




तपाईंको प्रतिक्रिया