धनगढीमा सालनालसहित झाडीमा नवजात शिशु फाल्ने आमा पक्राउ
काठमाडौं, पौष ०२- पुसको कठ्याङ्ग्रिने चिसो बिहान, धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलको एकान्त खोलाकिनारबाट नवजात शिशु रोएको आवाज आएपछि स्थानीय स्तब्ध बने। खोलाको किनारमा रहेको झाडीमा सालनाल समेत नकाटिएको अवस्थामा एक नवजात शिशु (छोरी) बेवारिसे फालिएको अवस्थामा फेला परेकी थिइन्।
घटना मंगलबार बिहानको हो। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शिशुको उद्धार गरेको थियो। प्रहरीका अनुसार बिहान करिब सवा ८ बजे प्रहरी कन्ट्रोलमा सूचना प्राप्त भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार उद्धार गरिएकी शिशुलाई तत्कालै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ। सालनालसहित कपडाले बेरिएको अवस्थामा भेटिएकी शिशुको स्वास्थ्य अवस्था हाल स्थिर रहेको प्रहरीले जनाएको छ।
शिशुको उद्धारपछि प्रहरीले आमाको खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा सोही वडाकी २९ वर्षीया राममति रानालाई प्रहरीले पक्राउ गरेको छ। उनी विवाहित रहेको र उनका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी निरीक्षक विष्टका अनुसार ती महिला हाल शारीरिक तथा मानसिक रूपमा निकै कमजोर अवस्थामा रहेकी छिन्। “उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्न, त्यसैले शिशु किन फालिएको हो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन,” उनले बताए।
प्रहरीले सोधपुछ गर्न खोजे पनि महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले पहिला उपचारमा प्राथमिकता दिइएको छ। आमा र शिशु दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार हालसम्म ती महिलाका परिवारका अन्य सदस्यहरू सम्पर्कमा आएका छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र आमाको स्वास्थ्यमा सुधार आएपछि मात्रै शिशु फाल्नुको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।
भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने




तपाईंको प्रतिक्रिया