कर्णाली : भ्रम र यथार्थ
काठमाडौँ, पौष ३- कर्णालीलाई बुझ्ने हाम्रो सामाजिक दृष्टि नै समस्याग्रस्त छ । हामीले कर्णालीलाई हेर्ने आँखामा वर्षौंदेखि ‘विकट’ भन्ने धुलो जमिसकेको छ । यो धुलो यति बाक्लो छ कि कर्णालीको वास्तविकता नै देखिन छाडिसकेको छ । विडम्बना त के भने, आज कर्णालीभन्दा धेरै विकट जीवन, सोच र संरचना भएका स्थान र मानिसहरु काठमाडौंमै र यहिँ वरिपरिका तथाकथित आधुनिक बस्तीहरूमा भेटिन्छन् । भीड, बेरोजगारी, अव्यवस्थित बसोबास, असमानता र मूल्यहीन रस्साकस्सी यी सबै काठमाडौंको नजिकै देखिन्छन् । तर विकटको बिल्ला भने कर्णालीलाई मात्रै भिराइन्छ ।
म बारम्बार सोच्ने गर्छु, के कर्णाली साँच्चै विकट हो, या हाम्रो आँखामा जमेको भ्रमको धुलो मात्रै हो ।
भौगोलिक दृष्टिले पहाड, खोँच र नदीले भरिएको कर्णालीलाई विकट भन्ने हो भने, यही मापदण्डले त नेपालका अधिकांश भूभाग विकट ठहरिनुपर्ने । तर कर्णालीलाई मात्रै अलग्याएर हेर्नु, उसलाई कमजोर देखाउनु र दयाको पात्र बनाउनु एउटा सुनियोजित भाष्य जस्तो लाग्छ ।
इतिहासतर्फ फर्किंदा कर्णाली कुनै पनि अर्थमा विकट थिएन । बरु, यही भूभाग सिंजा साम्राज्यको केन्द्र थियो । सिंजाबाटै राज्य सञ्चालनको विधि विकास भयो, प्रशासनिक संरचना बन्यो र सभ्यताको बीउ रोपियो । आज हामी बोल्ने नेपाली भाषाको मूल जरो यही कर्णालीको माटोमा उब्जिएको हो । खस भाषाबाट विकसित नेपाली भाषा कुनै आकस्मिक घटना होइन; यो सिंजा सभ्यताको गहिरो देन हो ।
मलाई लाग्छ, नेपाली भाषामा गर्व गर्ने प्रत्येक नागरिकले कर्णालीप्रति सम्मान प्रकट गर्नुपर्छ ।
कर्णाली केवल भाषा मात्र होइन, पहाडी समाजको सामाजिक संरचनाको उद्गमस्थल पनि हो । आज देशभर फैलिएका थुप्रै पहाडी थरहरूको जरो यहीँ भेटिन्छ । खस परम्परा, संस्कार, सामूहिकता र श्रमप्रतिको सम्मान कर्णालीको सभ्यताका आधारस्तम्भ हुन् । सरल जीवनशैली, प्रकृतिसँगको सहअस्तित्व र आत्मसम्मान कर्णाली समाजको पहिचान हो । यस्ता सभ्यतागत विशेषता भएका भूभागलाई विकट भन्ने हिम्मत कसरी गर्न सकिन्छ ?
मलाई अझ दुःख लाग्छ, जब कर्णालीलाई विकट बनाउने काम बाहिरबाट होइन, कर्णाली भित्रैबाट गरिएको देख्छु । यहाँका ठुला भनाउँदा नेताहरू, जो चुनावी मौसममा कर्णालीका नागरिकलाई आश्वासनको ललिपप देखाउँछन्, तिनै नेताहरूले कर्णालीलाई ‘विकट’को स्थायी बिम्बमा कैद गरेका छन् । विकट देखाएरै सहानुभूति बटुल्ने, त्यसकै नाममा एनजीओ र आइएनजीओ भित्र्याउने र ती संस्थाबाट आएको मोटो रकम आफ्नो दुनो सोझ्याउने प्रवृत्ति मौलाउँदै गयो । खासगरी कर्णाली पछाडि पर्नुमा भौगोलिक कठिनाइभन्दा बढी यिनै स्वार्थी राजनीतिक उपद्रवहरुको फोहोरी खेल सबैभन्दा बढी जिम्मेवार छ ।
कर्णालीलाई विकट देखाइराख्नु नेताहरूका लागि फाइदाको व्यापार बन्यो ।
विकास नहुनुको दोष भूगोललाई थोपर्ने, नागरिकको पीडालाई अन्तर्राष्ट्रिय मञ्चमा बेच्ने र आफू भने सत्ताको वरिपरि घुमिरहने, यो दुष्चक्र आज पनि रोकिएको छैन । अझै पनि केही शक्तिहरू कर्णालीलाई सक्षम, आत्मनिर्भर र गर्विलो प्रदेशको रूपमा होइन, सधैं सहायता खोजिरहने कमजोर भूभागकै रूपमा प्रस्तुत गर्न चाहन्छन् । मलाई लाग्छ, यही मानसिकताले कर्णालीलाई साँच्चिकै पहिल्यैदेखि अन्याय गरेको छ ।
यथार्थमा कर्णाली सम्भावनाले भरिएको प्रदेश हो । प्राकृतिक सौन्दर्य, ऐतिहासिक स्थल, मौलिक संस्कृति र जैविक विविधताले कर्णालीलाई पर्यटकीय स्वर्ग बनाउन सक्छ । सिंजा उपत्यका, रारा, से फोक्सुण्डो, कर्णाली नदीको सभ्यता, यी सबै केवल दृश्य होइनन्, जीवित इतिहास हुन् । सरकारले कर्णालीलाई विकासको बोझ होइन, राष्ट्रिय पहिचानको मेरुदण्डका रूपमा हेर्नुपर्छ । कर्णालीलाई ‘पर्यटकीय प्रदेश’का रूपमा ब्रान्डिङ गर्नु आजको आवश्यकता हो ।
अन्त्यमा, म स्पष्ट रूपमा भन्न चाहन्छु, कर्णाली विकट होइन, विकट त कर्णालीलाई हेर्ने काठमाडौं केन्द्रित र पिच बाटोलाई मात्रै विकास देख्नेहरुको अन्धो दृष्टि हो । कर्णाली पछाडि परेको होइन, योजनाबद्ध रूपमा पारिएको हो । इतिहासले सभ्यताको केन्द्र भनेर चिनाएको भूभागलाई आज भोक, पीडा र दयाको प्रतीक बनाएर प्रस्तुत गर्नु कुनै संयोग होइन, यो राजनीतिक अपराध हो । कर्णालीका नाममा गरिने सहानुभूतिको व्यापार अब बन्द हुनुपर्छ । कर्णाली सहायता होइन, अधिकार खोजिरहेको छ; दया होइन, सम्मान चाहिरहेको छ ।
अब प्रश्न सोध्ने बेला आएको छ, कर्णालीलाई सधैं विकट देखाएर कसको दुनो सोझिँदैछ ? कसको राजनीति चल्दैछ ? र किन कर्णालीका नागरिकहरू सधैं ‘विकास आउँदैछ’ भन्ने खोक्रो आश्वासनको पर्खाइमा राखिन्छन ? जबसम्म यी प्रश्नहरू गम्भीरतापूर्वक उठाइँदैनन्, तबसम्म कर्णालीमाथि भइरहेको अन्याय निरन्तर जारी रहनेछ ।
म दृढताका साथ भन्छु, कर्णालीलाई पर्यटकीय प्रदेशका रूपमा उभ्याउनु केवल विकासको योजना होइन, यो ऐतिहासिक न्याय हो । सिंजाको सभ्यता, खस परम्पराको गौरव र नेपाली भाषाको उद्गम बोकेको यो भूभाग राष्ट्रको शिर हो, बोझ होइन । यदि राज्य अझै पनि कर्णालीलाई विकटको फ्रेममा कैद गरेर हेर्न चाहन्छ भने, त्यो राज्य स्वयं आफ्नै इतिहास, पहिचान र भविष्यप्रति अपराध गरिरहेको हुनेछ ।
– अनिल न्यौपाने (मान्ठ)
न्यौपाने आर्थिक पत्रकार हुन् ।




तपाईंको प्रतिक्रिया