हेटौंडा बजारमा सडक विस्तार सुरू: बिहानैदेखि भत्काइए अतिक्रमित संरचना
१८ मंसिर, काठमाडौं – सडक डिभिजन कार्यालयले शनिबार बिहानबाटै हेटौंडा बजारमा सडक विस्तार सुरू गरेको छ। बाक्लो सुरक्षाकर्मी परिचालन गरी स्थानीय प्रशासनको सहयोगमा डिभिजनले रेखाङ्कभित्र परेका अतिक्रमित संरचना भत्काउन थालेको हो।
हेटौंडाको बुद्धचोक क्षेत्रमा खाली घर भत्काउने कार्यबाट सडक विस्तार कार्यको औपचारिक सुरुवात भएको छ। सडक डिभिजनले बजार क्षेत्रका तीन–चार ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरेको जनाएको छ। जेसीवी र डोजर परिचालन गरी तीव्र गतिमा संरचना भत्काउन थालिएको छ।
सकियो १५ दिने अल्टिमेटम
सडक डिभिजनले गत ५ मंसिरमा सार्वजनिक सूचना जारी गरी सडक सीमाभित्रका घरटहरा र संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटमको अन्तिम दिन शुक्रबार सकिएपछि शनिबारबाट कार्य सुरू गरिएको हो।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तार गर्ने योजना छ।
५३१ संरचना भत्काउनुपर्ने
सडक डिभिजनका अनुसार, रातोमाटेदेखि राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म ८.५ किलोमिटर सडक खण्डभित्र जम्मा ५३१ वटा घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने देखिएको छ।
सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २३४ वटा र बायाँतर्फ २९७ वटा संरचना अतिक्रमणमा परेको डिभिजन प्रमुख अधिकारीले जानकारी दिए।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई आधार बनाएर विस्तार कार्य अघि बढाएको हो। दुई वर्षअघि घरधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार कार्य रोकिएको थियो। सोही मुद्दाको फैसलालाई टेकेर अहिले पुनः विस्तार कार्य सुरू गरिएको छ।
मुआब्जा माग्दै व्यवसायी आन्दोलित
सडक विस्तार हुने क्षेत्रका घरधनी र व्यवसायीहरू मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आन्दोलित छन्। तर, मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनमा सहभागी नहुने निर्णय गरिसकेको उपाध्यक्ष उज्वल चौलागाईंले जानकारी दिए।
केही सीमित घरधनीहरू घर भत्काउन तयार भई आफ्ना सामान अन्यत्र व्यवस्थापन गरिसकेका छन्। तर अधिकांश घरधनीहरू आन्दोलनमा होमिँदै सडक डिभिजनको विस्तार कार्यको प्रतिकार गर्ने चेतावनी दिइरहेका छन्।
सडक डिभिजन हेटौंडाले वर्षौंदेखि सडक विस्तार कार्य अलपत्र पारेर मात्रै राख्ने विषय स्वीकार हुन नसक्ने बताउँदै आएको छ। यसअघि असार २०७६ मा १ नम्बर वडामा सडक क्षेत्रको जग्गा खाली गराउँदा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो। त्यसपछि सडक डिभिजन मैदानमा उत्रिएको थिएन।




तपाईंको प्रतिक्रिया