हाल साँझ ७ बजेसम्मको अवस्था: ६ स्थानको नतिजा टुङ्गियो

 १२ घण्टा अगाडि

✍ लेखा खबर संवाददाता


६ क्षेत्रको नतिजा टुङ्गिदा कसले कति मतले जिते?

काठमाडौं, २२ फागुन । देशभर मुलुकभर प्रतिनिधिसभा निर्वाचनको मतगणनाको रापताप बढिरहँदा साँझ ७ बजेसम्म ६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ३ वटा क्षेत्रमा सानदार जित दर्ता गरेको छ भने नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङ र मुस्ताङमा आफ्नो झण्डा गाडेको छ। यता रुकुम पूर्वमा भने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन्।

काठमाडौंमा रास्वपाको दबदबा

काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा शिशिर खनाल २७ हजार ७११ मतसहित दोस्रो पटक निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीलाई २१ हजार ६४ मतान्तरले पराजित गरेका हुन्। क्षेत्र नं. १ मा रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतका साथ विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापा क्षेत्रीलाई ९ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षको उमेरमा संसदको यात्रा तय गरेकी हुन्। यस्तै, क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित तेस्रो पटक विधायक चुनिएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी का सुमन सायमीलाई २१ हजार ३७५ को भारी मतान्तरले पराजित गरेका हुन्।

हिमाली जिल्लामा कांग्रेसको ‘क्लिन स्वीप’

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको थियो। कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर लगातार दोस्रो पटक निर्वाचित भएका छन्। उनले एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरे। मनाङमा पनि कांग्रेसकै टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी यशोदा सुवेदी गुरुङलाई १ हजार ९६१ मतान्तरले पछि पारेका हुन्।

रुकुम पूर्वमा प्रचण्डको जित

रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित निर्वाचित भएका छन्। उनले एमालेका लीलामणि गौतमलाई ६ हजार ७७८ मतान्तरले पराजित गर्दै आफ्नो साख जोगाएका हुन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय