२४ घन्टामै नतिजा प्रकाशित: काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाबाट १० हजार भन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं, साउन ४ – काठमाडौं महानगरको छात्रवृत्ति का लागि सञ्चालन गरिएको कक्षा ११ र १२ को प्रवेश परीक्षाको नतिजा २४ घन्टा नपुग्दै प्रकाशित गरिएको छ। शिक्षा विभागका अनुसार, काठमाडौं महानगरको छात्रवृत्ति प्रक्रिया पारदर्शिता, उत्तरदायित्व र समर्पणको उत्कृष्ट उदाहरण बनेको छ।
शैक्षिक सत्र २०८२/८३ का लागि स्थानीय संस्थागत विद्यालयहरूमा छात्रवृत्तिको अवसर पाउन इच्छुक विद्यार्थीका लागि ५४ परीक्षा केन्द्रहरूमा गत शनिबार (साउन ३) परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भए, जसमा १०,८६७ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुन न्यूनतम ४० अंक अनिवार्य थियो।
२४ घन्टामै नतिजा: उदाहरणीय कार्य
सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागको समर्पण र सक्रियतालाई “उत्कृष्ट उदाहरण” का रूपमा प्रस्तुत गर्दै भने,
“महानगरको शिक्षा विभागले निरन्तर खटिएर चौबीस घन्टामै नतिजा सार्वजनिक गर्न सफल भयो। यो विद्यार्थीप्रतिको उत्तरदायित्व र संविधानको मर्मअनुसार समावेशी स्कलरसिप प्रणालीको परिणाम हो।”
विषयगत विवरण: विज्ञान र व्यवस्थापनमा सबैभन्दा धेरै सहभागिता
विषय | परीक्षार्थी संख्या | उत्तीर्ण |
---|---|---|
विज्ञान | १०,२६१ | ८,७५० |
व्यवस्थापन | ३,६०६ | १,९५७ |
कानुन | २२० | १३५ |
शिक्षा | ७० | १९ |
मानविकी | २५ | ६ |
जम्मा | १४,१७३ | १०,८६७ |
लैंगिक विवरण:
उत्तीर्णमध्ये छात्रा ६,८०१, छात्र ६,०६४ र अन्य २ जना छन्।
परीक्षा संरचना र प्रविधि
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो। प्रश्नपत्रमा अनिवार्य गणित, विज्ञान, अङ्ग्रेजी (३०/३० प्रश्न) र सामान्य ज्ञान (१० प्रश्न) गरेर कुल १०० बहुविकल्पीय प्रश्नहरू थिए। गलत उत्तरमा कुनै नकारात्मक अंकन थिएन।
परीक्षा मूल्यांकन OMR (Optical Mark Recognition) प्रविधिबाट गरिएको हो, जसले उत्तरपुस्तिका स्वचालित रूपमा स्क्यान गरी मूल्यांकन गर्छ। यसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञावालीले बताए।
नतिजा हेर्ने तरिका
विद्यार्थीहरूले आफ्नो SEE सिम्बोल नम्बर, जन्म मिति, र प्राप्त पासवर्ड प्रयोग गरी entrance.kathmandu.gov.np बाट स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।
छात्रवृत्तिका लागि ४ हजार बढी सिट उपलब्ध- काठमाडौं महानगरपालिका अन्तर्गतका १६० संस्थागत विद्यालयहरूमा ४,००० भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।
नतिजा र भर्नासम्बन्धी महत्त्वपूर्ण जानकारीहरू
१. विवरण संशोधन:
नाम, लिङ्ग वा योग्यता विवरण त्रुटि भएमा सम्बन्धित प्रमाणसहित साउन ५ गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिन्छ।
२. दाबी विरोध:
नतिजासम्बन्धी चित्त नबुझेमा रु. १,०००/- बुझाएर साउन ५ भित्र पुनरावलोकनको माग गर्न सकिन्छ।
३. म्याचिङ सूची प्रकाशन:
सुधार तथा पुनरावलोकनपछि साउन ६ गते पहिलो म्याचिङ लिस्ट प्रकाशन गरिनेछ। योग्यताक्रमअनुसार बाँकी सिटका लागि दोस्रो तथा अन्तिम चरणको Wrap-up सूची पनि सार्वजनिक गरिनेछ।
४. भर्ना प्रक्रिया:
चयनमा परेका विद्यार्थीले ३ दिनभित्र भर्ना गर्नुपर्नेछ। समयमा भर्ना नगरेमा सिट अन्य विद्यार्थीलाई दिइनेछ।
तपाईंको प्रतिक्रिया