सुर्खेतमा सुतिरहेकी श्रीमतीको काठ प्रहार गरी हत्या

काठमाडौं, साउन ११ –सुर्खेतको करेखोला बसोबास गर्दै आएका ४२ वर्षीय दानसिंह ठाडामगरले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन्। आइतबार बिहानपख हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
हत्या गरेपछि दानसिंहले आफैं दुबईमा रहेका छोरा, जापानमा रहेकी छोरी तथा प्रहरीलाई फोन गरेर घटना जानकारी गराएका थिए। उनले प्रहरीको सम्पर्क नम्बर लिन वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई पनि राति नै सम्पर्क गरेका थिए।
दुबै सुतिरहेका बेला काठले प्रहार
वडाध्यक्ष कोइरालाका अनुसार, शनिबार राति दानसिंह र रविना सँगै ओछ्यानमा पल्टिएर मोबाइल हेर्दै थिए। रविना निदाएको केही क्षणमै दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठ प्रयोग गरी टाउकोमा हिर्काएर हत्या गरेका थिए।
हत्या भएको खबर पाएपछि नगर प्रहरी र करेखोला प्रहरी चौकीबाट टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको र आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।
अज्ञात कारण
ठाडामगर नेपाली सेनाबाट अवकाशप्राप्त हुन्। उनको एक छोरो दुबईमा, एक छोरी जापानमा र अर्की छोरी सुर्खेतमै छन्। वडाध्यक्षका अनुसार उनले विगतमा मदिरा सेवन गर्ने गरे पनि पछिल्लो एक हप्तादेखि त्यस्तो देखिएको थिएन।
रामेछापमा आफ्नै प्रेमिकाको हत्या: विवाह अस्वीकृत गरेपछि बनेपाको जंगलमा हत्या गरेको स्वीकार
हत्या किन गरिएको भन्ने यकिन खुलिसकेको छैन। प्रारम्भिक बयानमा उनले “मलाई केही थाहा भएन, सैतान लागेर हानेको हुँ” मात्र भनेको वडाध्यक्ष कोइरालाले जानकारी दिए।
तपाईंको प्रतिक्रिया