सिन्धुलीमा एकै घरका १६ जना बेपत्ता: सुँगुर काटेको दिनदेखि सम्पर्कविहीन

 श्रावण १३, २०८२

✍ लेखा खबर संवाददाता


सुनसान घर, डढेको छाप्रो, अलपत्र पशु र हराएको परिवार

तीन दिनदेखि घर सुनसान, भैसी–बाख्रा अलपत्र, प्रहरीले खोजी तीव्र पारेको

सिन्धुलीमा एकै घरका १६ जना सदस्य ८ साउनदेखि सम्पर्कविहीन भएका छन्। गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारले घरमै सुँगुर काटेर खाएको दिनदेखि बेपत्ता भएको प्रारम्भिक विवरण स्थानीयहरूबाट प्राप्त भएको छ।

वडा अध्यक्ष रबिन श्रेष्ठका अनुसार हायु परिवारको घर तीन दिनदेखि सुनसान छ। घर नजिकै रहेको गोठमा बाँधिएको भैसीलाई कसैले घाँस पनि हालेका छैनन्, कुखुरा, बाख्रा सबै अलपत्र छन्।

“घर एकान्तमा छ, वरपर अरू घर पुग्न १५ मिनेट लाग्छ। त्यसैले ढिलो थाहा भयो,”
-वडा अध्यक्ष रबिन श्रेष्ठ

शंकास्पद दृश्यहरू

घटनास्थलमा डढेको छाप्रो, झुन्डिएका लुगा, बाहिरै छरिएको भाँडाकुडा, सबैले यो बेपत्ता घटनालाई शंकास्पद बनाएको छ। प्रहरीले प्रारम्भिक खोजी क्रममा केही कागजात र मोबाइल डेटा विश्लेषण गर्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार, प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र खोजी कार्य तीव्र पारिएको छ।
उनले भने:

“कतै घुम्न गएको हुनसक्ने आशंका पनि छ, किनभने केही दिनअघि उनीहरूले सामाजिक भत्ता लिएका थिए। मोबाइल लोकेसन ट्र्याक गर्दैछौं।”

रामेछापमा पनि खोजी

सिन्धुलीमा एकै घरका १६ जना सम्पर्कविहीन भएपछि, हायु समुदायको रामेछापमा पनि बसोबास रहेको जानकारीका आधारमा त्यहाँ समेत खोजी कार्य विस्तार गरिएको छ। रामेछापका डीएसपी भोलाकुमार भट्टले पनि खोजी कार्य जारी रहेको पुष्टि गरेका छन्।

नेपालमा मानवअधिकारको अवस्था: चुनौती, सुधार र सम्भावना

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5