गुल्मीमा १० वर्षीय बालक झुण्डिएको अवस्थामा घरमै मृत फेला

काठमाडौं, साउन १३ – गुल्मीमा १० वर्षीय बालक मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। धुर्कोट गाउँपालिका–४ कालापोखरास्थित आफ्नै घरमा बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मृतक बालक स्थानीय रामबहादुर सुनारका छोरा अनमोल सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिएका छन्।
बिहान करीब १० बजेतिर अनमोल आफ्नै घरको बंगालको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। उनलाई झुण्डिएको देखेपछि उनकी आमाले तत्कालै पासो काटेर खाटमा सुताएकी थिइन्, तर त्यसबेलासम्म उनको ज्यान गइसकेको प्रहरीले पुष्टि गरेको छ।
घटनाबारे स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटमा खबर गरेका थिए। सूचना पाउने बित्तिकै प्रहरी सहायक निरीक्षक रामदेव सुनारको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार घटनाको कारण अहिले खुलेको छैन। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको छ।
भक्तपुरमा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी मृत फेला
हाल घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले कुनै निष्कर्षमा नपुगेको स्पष्ट पारेको छ।
तपाईंको प्रतिक्रिया