रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीपछि जापान–अमेरिकामा सतर्कता

 श्रावण १५, २०८२

✍ लेखा खबर संवाददाता


कामचटका भूकम्प र समुद्री तटीय क्षेत्रमा सुनामीको खतरा

काठमाडौं, साउन १४ – रुसको सुदूर पूर्वी क्षेत्र कामचट्का प्रायद्वीपमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएको छ। रुसमा ८.८ म्याग्निच्युडको भूकम्प पछि सुनामीको खतरा बढेको छ भने जापान, हवाई र प्रशान्त महासागर क्षेत्रका धेरै देशमा चेतावनी जारी गरिएको छ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार यो भूकम्प पेट्रोपाभलोभ्स्क-कामचत्स्कीबाट करिब १२६ किलोमिटर टाढा र १८ किलोमिटर गहिराइमा केन्द्रित थियो।

सुनामीको खतरा: ३–४ मिटर अग्लो छालहरू आउने सम्भावना

रुसी आपत्कालीन मामिला मन्त्रालयका क्षेत्रीय प्रमुख सर्गेई लेबेदेभले जानकारी दिएअनुसार, भूकम्पपछि कामचट्का क्षेत्रमा ३–४ मिटर अग्लो सुनामी छालहरू देखिएका छन्। सरकारी समाचार संस्था TASS का अनुसार, केही मानिसहरू भाग्ने क्रममा घाइते भएका छन्। एक महिलाले झ्यालबाट हाम फाल्दा चोटपटक लागेको उल्लेख गरिएको छ।

कामचटका स्वास्थ्य मन्त्री ओलेग मेल्निकोभका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ। “हालसम्म कुनै गम्भीर चोटपटक वा मृत्युको सूचना आएको छैन,” उनले भने।

१९५२ यताकै शक्तिशाली भूकम्प, पराकम्पको चेतावनी

कामचट्का भूभौतिकीय शाखाका अनुसार यो भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली हो। आगामी दिनमा ७.५ म्याग्निच्युडसम्मका पराकम्पहरू आउने सम्भावना उच्च रहेको र कम्तीमा एक महिनासम्म पराकम्प जारी रहन सक्ने प्रक्षेपण गरिएको छ।

पछिल्ला केही दिनदेखि यस क्षेत्रमा भूकम्पको गतिविधि उच्च देखिएको छ। जुलाई २० मा पनि ७.४ म्याग्निच्युडको भूकम्पसहित पाँचवटा कम्पन रेकर्ड भएका थिए।

जापान, हवाई र अन्य देशहरूमा सतर्कता र खाली गराउने आदेश

कामचटका तटीय क्षेत्रमा सुनामीको खतरा देखिएसँगै जापानले प्रभावित क्षेत्र खाली गर्न आदेश दिएको छ। चेतावनी अनुसार, छालाहरू कहिले आउँछन् भन्ने निश्चित नभएकाले सतर्क रहन जनाइएको छ।

हवाई राज्यले पनि राजधानी होनोलुलु समेत पर्ने ओआहु टापुका अधिकांश भाग खाली गर्न निर्देशन दिएको छ।

क्यालिफोर्नियामा सुनामीको चेतावनी, भारतीय महावाणिज्य दूतावासको आग्रह

अमेरिकाको क्यालिफोर्नियाका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। आज दिउँसो १२:२० बजेसम्म पहिलो लहर पुग्ने सम्भावना रहेको छ। त्यसपछि १० देखि ३६ घण्टासम्म विभिन्न लहरहरू आउने अनुमान गरिएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई समुद्री किनारा, बन्दरगाह र तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ।

यसबीच, सनफ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासले पनि एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिका, विशेषतः क्यालिफोर्निया, पश्चिमी तटीय राज्यहरू र हवाईमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई सतर्क रहन अनुरोध गरेको छ।

दूतावासले चार मुख्य कुरामा ध्यान दिन आग्रह गरेको छ:

  1. अमेरिकी अधिकारी र आपतकालीन संस्थाहरूको सूचनामा नियमित निगरानी राख्न
  2. चेतावनी जारी भएमा उच्च तथा सुरक्षित स्थानतर्फ सर्न
  3. तटीय क्षेत्रहरूबाट टाढा रहन
  4. मोबाइल र आवश्यक उपकरणहरू पहिल्यै चार्ज गरेर तयार राख्न

अमेरिकाको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गयो

डोनाल्ड ट्रम्पले Truth Social र X (Twitter) मा पोस्ट गर्दै “tsunami.gov मा नवीनतम जानकारी लिनुहोस्, बलियो बनौं र सुरक्षित रहौं” भन्दै सन्देश दिएका छन्।

तपाईंको प्रतिक्रिया