गोदावरीका ६० प्रतिशत जार पानी नमुनामा मलजन्य कोलिफर्म भेटियो

 श्रावण १५, २०८२

✍ लेखा खबर संवाददाता


जार पानी परीक्षण गर्दा मलजन्य कोलिफर्म भेटिएको रिपोर्ट

काठमाडौं, साउन १४ – गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट संकलन गरिएका जार पानीका १० नमुनामध्ये ६ वटा नमुनामा मलजन्य कोलिफर्म पाइएको छ। यसले खपतयोग्य मानिएको जार पानीसमेत सुरक्षित नरहेको पुष्टि गरेको छ।

नगरपालिकाका स्वास्थ्यकर्मीहरूले विभिन्न जार पानी उत्पादक कम्पनीका नमुना संकलन गरी ललितपुर स्वास्थ्य कार्यालयको प्रयोगशालामा परीक्षण गराएका थिए। परीक्षणमा ६ वटा नमुनामा कोलिफर्म देखिएपछि ती कम्पनीका प्लान्टहरू तत्काल सिल गरिएको उप–प्रमुख मुना अधिकारीले जानकारी दिइन्।

उक्त नमुनामा पाइएको ‘फेकल कोलिफर्म’ के हो ?
फेकल कोलिफर्म एक प्रकारको सूक्ष्म जीव हो जुन तातो रक्तवाहक जनावरको मल वा आन्द्रामा पाइन्छ। यसको उपस्थिति भएको अर्थ हो—पानीमै ढल वा फोहोर मिसिएको छ। चिकित्सकहरूका अनुसार यस्तो पानी पिउँदा हैजा, झाडा, टाइफाइड र हेपाटाइटिस जस्ता घातक रोगहरू लाग्न सक्छन्।

उपत्यकामा बढ्दै संक्रमण
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा झाडा, भाइरल ज्वरो र हेपाटाइटिसका बिरामीहरू अचानक बढेका छन्। कान्ति बाल अस्पतालले दैनिक १,००० भन्दा बढी बिरामीहरू उपचार गरिरहेको छ, जसमध्ये ६० भन्दा बढी गम्भीर झाडा पीडित छन्।

“भाइरल हेपाटाइटिसका बिरामी पनि बढेका छन्,” अस्पतालका प्रवक्ता डा. सुमित अग्रवालले भने। “बालबालिकामा सबैभन्दा बढी असर परेको देखिन्छ, अभिभावकहरूले पानी र खानेकुराको गुणस्तरमा ध्यान दिन जरुरी छ।”

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रेवती कार्कीका अनुसार, प्रभावित कम्पनीहरूलाई गुणस्तर सुधार नगरेसम्म उत्पादन बन्द गरिनेछ। “सुधारको प्रमाण पेश गरेपछि मात्रै उत्पादन पुनः सुरु गर्न अनुमति दिइनेछ,” उनले बताइन्।

पछिल्लो वर्ष पनि गोदावरीमै यस्तै नमुनामा कोलिफर्म पाइएको थियो र त्यतिबेला समेत हैजाको संक्रमण फैलिएको थियो। त्यसबेला संक्रमित बिरामीको मल परीक्षण गर्दा हैजाको ‘ओगावा सिरोटाइप’ पुष्टि भएको थियो।

फेरि रायो सागमा भेटियो अत्यधिक विषादी, कालीमाटी बजारमा रायो साग उपभोग गर्न अयोग्य घोषित


नेपालमा मनसुनको समयमा खानेपानीको स्रोतहरूमा ढल मिसिनु सामान्यजस्तै भएको छ। यसले वर्षेनि हजारौँ नागरिकलाई झाडा, टाइफाइड, हैजा र हेपाटाइटिसजस्ता रोगहरूबाट संक्रमित बनाइरहेको छ। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले तत्काल सतर्कता अभियान सञ्चालन गर्न र खानेपानीको गुणस्तर सुनिश्चित गर्न सुझाव दिएका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5