भेष बदलेर गाउँ पस्ने रुपन्देहीका ‘अन्डरकभर’ एसपी: दुई महिनामै ५ करोडको तस्करी नियन्त्रण

रुपन्देहीका प्रहरी प्रमुख प्रदीप क्षेत्रीको भेष बदल्ने ‘अन्डरकभर’ कार्यशैलीले जिल्लाको तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता पाएको छ। सर्वसाधारणको भेषमा गाउँ पस्ने एसपी क्षेत्रीको अनौठो तरिकाले प्रहरी कार्यशैलीमा नै सकारात्मक परिवर्तन ल्याएको देखिएको छ।
‘गम्छा र कुर्तामा’ एसपी गाउँमा
एसपी क्षेत्री प्रायः बेलुका साँझ सामान्य गम्छा बाँधेर वा कुर्ता लगाएर मोटरसाइकलमा सीमावर्ती गाउँहरूमा पुग्ने गर्छन्। यस्तो शैलीमा उनी स्थानीयहरूसँग सीधै घुलमिल हुन्छन् र प्रहरी कार्यशैली, तस्करीको अवस्था तथा जनगुनासाहरु प्रत्यक्ष संकलन गर्छन्।
“स्थलगत निगरानी र जनताको प्रतिक्रिया सुन्नु आफैँमा विश्वासको एउटा उपाय हो,” एसपी क्षेत्री भन्छन्, “मातहत युनिटलाई हौसला दिन र प्रहरी कार्यालय सधैं उनीहरूको साथमा छ भन्ने अनुभूति गराउन यस्तो शैली अपनाएको हुँ।”
दुई महिनामै ५ करोडभन्दा बढीको बरामद
एसपी क्षेत्रीको कमान्डमा आएको दुई महिना (जेठ–असार) को अवधिमा मात्रै ५ करोड ३६ लाख ६० हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानहरू बरामद भएका छन्। सोही अवधिमा तस्करीमा संलग्न ७६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
उक्त कार्यशैलीपछि विशेष गरी सीमावर्ती प्रहरी चौकीहरूमा तस्करी गतिविधि निकै घटेको देखिएको छ। प्रहरीका अनुसार, “पहिले जुन चौकीमा जानको लागि प्रहरी इन्चार्जहरू तँछाडमछाड गर्थे, अहिले त्यहाँ जान कोही चाहँदैन। कारण स्पष्ट छ—एसपी आफैं गाउँ–गाउँ पुग्छन् र अनुशासनमा चुकेकालाई तुरुन्त कारबाही गर्छन्।”
सुर्खेतमा सुतिरहेकी श्रीमतीको काठ प्रहार गरी हत्या
‘झोलेपोके’ तस्करीमाथि समेत कडाइ
ठूला तस्करीहरू लगभग ठप्प भएपछि प्रहरीले साना स्तरका ‘झोलेपोके’ तस्करीहरूमाथि पनि निगरानी बढाएको छ। सुरक्षा निकायभित्रको अनुशासन, पारदर्शिता र क्षेत्रीय मनोबल वृद्धिमा एसपी क्षेत्रीको यो शैलीले नयाँ उदाहरण स्थापित गरेको भन्दै स्थानीय बासिन्दा तथा प्रहरी स्रोतहरू उत्साहित देखिएका छन्।
तपाईंको प्रतिक्रिया