भारतबाट ब्राउनसुगर ल्याउँदै गरेका दुई भारतीय नागरिक विराटनगरमा पक्राउ

काठमाडौं, साउन २३ – भारतबाट नेपाल ल्याइएको १४१ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका–१५ स्थित रानीको जानकी मन्दिर अगाडि उनीहरूलाई नियन्त्रणमा लिएको हो। सो स्थान भारतको सीमासँग सटिएको क्षेत्रमा पर्छ।
पक्राउ पर्नेहरू भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको फारबिसगञ्ज थाना अन्तर्गतका हुन्। तीमध्ये ३५ वर्षीय मो. सिकन्दर बाखत रामपुर पञ्चायत–२ का हुन् भने सरफराज (उमेर ३५ वर्ष) सोही पञ्चायत–१० का बासिन्दा हुन्। दुवै जना लागुऔषध ब्राउनसुगर डेलिभरी गर्न नेपाल पसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सशंकित तरिकाले हिँडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले रोकेर जाँच गर्दा मो. सिकन्दर बाखतको साथबाट सेतो प्लास्टिकमा राखिएको ब्राउनसुगर बरामद गरिएको थियो। बरामद पदार्थको तौल प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक हटाउँदा १४१ ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको फोटो र भिडिओ अब सार्वजनिक नहुने: प्रहरीको नयाँ निर्देशन
प्रारम्भिक सोधपुछमा दुवै व्यक्तिले भारतबाट ब्राउनसुगर ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकार गरेका छन्। यो घटनाले सीमा क्षेत्र हुँदै लागुऔषध ओसारपसार अझै सक्रिय रहेको पुष्टि गर्छ। विराटनगर, भद्रपुर, नेपालगञ्ज जस्ता सीमा नाका लागुऔषध कारोबारका संवेदनशील बिन्दु मानिन्छन्।
तपाईंको प्रतिक्रिया