नेपालमा अलैँची खेतीको सम्भावना बढ्दो, लाखौ रुपैया पर्ने भएपछि किसान उत्साहित

काठमाडौं, साउन २५ – अलैँचीको मूल्य लगातार बढ्दै गएपछि भोजपुरका किसानहरू यस बालीको खेती विस्तारमा जुटेका छन्। गत वर्ष प्रतिमन एक लाख रुपैयाँभन्दा बढी मूल्य पाएको अलैँचीले किसानलाई उत्साह दिएको छ।
टेम्केमैयुङ–५ का किसान शिवकुमार विष्टका अनुसार, अघिल्ला वर्षहरूमा मूल्य घट्दा बगैँचा विस्तार नगरेका धेरै किसान अहिले नयाँ बगैँचा स्थापना र पुराना बगैँचाको संरक्षणमा लागेका छन्। “गत वर्ष प्रतिमन रु १ लाखदेखि रु १ लाख २ हजारसम्मको मूल्य पाएपछि हामी फेरि अलैँचीमा फर्किएका छौं,” उनले भने।
अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टका अनुसार, बजार मूल्यको सुधारसँगै उत्पादन क्षेत्र बढाउने काम भइरहेको छ। तर, उनले रोग र कीराको प्रकोप नियन्त्रण गर्न राज्यस्तरबाट प्राविधिक सहयोग अपरिहार्य रहेको बताए। “हरेक अलैँची जोनमा कृषि प्राविधिक खटाउन सके किसानको आम्दानी अझै बढ्नेछ,” उनले जोड दिए।
कृषि ज्ञान केन्द्रका अनुसार, हाल भोजपुरमा करिब ५९७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ। रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातको अलैँची यहाँको मुख्य उत्पादन हो। चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्गथर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरलगायत स्थान अलैँची उत्पादनका प्रमुख क्षेत्र मानिन्छन्। टेम्केमैयुङ–५ मा मात्रै करिब १५० किसान व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन्।
नेपालमा अलैँची लगाउने र पाक्ने समय
- लगाउने समय:
अलैँची सामान्यतया बैशाखदेखि असार महिनासम्म रोपिन्छ। यस समयमा पर्याप्त वर्षा र आर्द्रता हुने भएकाले बिरुवा छिटो बढ्छ।- बिरुवा रोप्नुअघि माटो परीक्षण र जैविक मल मिसाउने सिफारिस गरिन्छ।
- छायाँयुक्त तर पानी जम्ने खतरा नभएको स्थान रोजिन्छ।
- पाक्ने समय:
अलैँचीको फल सामान्यतया भदौदेखि मंसिर महिनासम्म क्रमशः पाक्छ।- पहिला तलका बोटका फल पाक्छन्, पछि माथिल्ला भागका।
- समयमै टिपेमा गुणस्तर र बजार मूल्य उच्च रहन्छ।
- उत्पादन चक्र:
बिरुवा रोपेको २–३ वर्षपछि उत्पादन सुरु हुन्छ र राम्रो व्यवस्थापन गरेमा १५–२० वर्षसम्म फल दिने क्षमता रहन्छ।
राष्ट्रिय बाँदर गणना सुरु – नेपालमा बाँदरको संख्या ५ लाख नजिक, बाली नोक्सानीले किसान त्रसित
कृषि विज्ञहरूका अनुसार, माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना र रोग–कीरा व्यवस्थापनमा ध्यान दिए अलैँची अझै लाभदायी आम्दानीको प्रमुख स्रोत बन्न सक्छ।
तपाईंको प्रतिक्रिया