इजरायलमा बेपत्ता विपिन जोशीको खोजीमा आमा र बहिनीको इजरायल यात्रा सुरु

काठमाडौं, साउन २६ – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा इजरायलमा बेपत्ता विपिन जोशीको खोजीमा उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल प्रस्थान गरेका छन्।
विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषिको अध्ययनका लागि इजरायल गएका थिए। २०८० असोज २० गते हमासले इजरायलमा आक्रमण गरेपछि उनी सम्पर्कविहीन भएका थिए। उनका साथीसहितको प्रत्यक्षदर्शी बयानअनुसार विपिनलाई हमासले बन्धक बनाएको पुष्टि भएको छ। सोही घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।
लामो समयसम्म पनि विपिनको रिहाई नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न परिवारले निर्णय गरेको हो। इजरायल सरकारको पहलमा पदमा र पुष्पालाई संयुक्त राष्ट्रसंघमा पुर्याएर अन्तर्राष्ट्रिय दबाब बढाउने रणनीति लिइएको छ।
इजरायलका लागि नेपाली दूतावासले टिकटको व्यवस्था गर्दै सम्पर्क र खोजीका थप कामको समन्वय गर्ने जनाएको छ। उनीहरू इजरायल पुगेर उच्च सरकारी अधिकारी, सेनाका प्रतिनिधि तथा सम्बन्धित निकायसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बासले विमानस्थलमै पदमा र पुष्पालाई बिदाइ गरेका थिए। परिवारले इजरायलमा बेपत्ता विपिन को सकुशल फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपील गरेको छ।
तपाईंको प्रतिक्रिया