अमेरिकाको टेक्ससमा नेपाली परिवारको कारुणिक अन्त्य: पत्नी र छोराको हत्यापछि ललित प्रधानको आत्महत्या

काठमाडौं, साउन २६ – अमेरिकाको टेक्ससमा एक नेपाली परिवारको कारुणिक अन्त्य भएको छ। डलास सहरमा ५३ वर्षीय ललित प्रधानले मानसिक तनावका कारण आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानको गोली हानी हत्या गरी त्यसपछि आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेका छन्।
मानसिक तनावपछि घट्यो त्रासदी
डलास प्रहरीले जनाएको अनुसार घटना स्थानीय समयअनुसार शनिबार बिहान २:१० बजे डडली स्ट्रिटको १९०० ब्लकमा भएको हो। प्रारम्भिक अनुसन्धानमा अमेरिकामा नेपाली परिवारको हत्या आत्महत्या भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको हो। ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।
घटनाको एक दिनअघि मात्र उनले आफ्नो फेसबुकवालमा लामो समयदेखि तनावमा रहेको र सरकारी सेवाहरू प्राप्त गर्न नसकेको गुनासो व्यक्त गरेका थिए। उनले लेखेका थिए, “मैले र मेरो परिवारले सरकारी सेवाहरू प्राप्त गर्न सकेका छैनौं, जसका कारण कडा परिश्रम गर्न बाध्य भएका छौं।”
समाजको सहयोगमा शव नेपाल पठाउने प्रयास
नेपाली समाज टेक्सस (NST) का महासचिव विजय भुसालका अनुसार ललित भुटानी शरणार्थी पृष्ठभूमिका थिए भने रञ्जना नेपाली मूलकी हुन्। समाजले नेपालस्थित आफन्तसँग सम्पर्क राखी शव नेपाल पठाउने तयारी गरिरहेको छ।
यसअघि पनि अमेरिकामा यस्तै दुःखद घटना भएको थियो। दुई महिना अघि भर्जिनियाको मनासस सहरमा एकै परिवारका चार नेपाली मृत फेला परेका थिए, जसमा पनि हत्या–आत्महत्या भएको अनुमान गरिएको थियो।
तपाईंको प्रतिक्रिया