सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

काठमाडौं, साउन २८ – सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र एक ठेकेदार र एक कामदार मृत फेला परेका छन्।
मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदारका रूपमा कार्यरत थिए।
आज बिहान करिब १० बजे, दुहबी–४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीभित्र उनीहरू अचेत अवस्थामा भेटिएका थिए। स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेपछि दुबैलाई मृत घोषित गरिएको थियो। थप अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको प्रवक्ता खतिवडाले जानकारी दिए।
प्रहरीका अनुसार मृत्युको कारण अझै खुल्न बाँकी छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
तपाईंको प्रतिक्रिया