सेयरको लोभमा बैंक खाता रित्तिने साइबर ठगीबाट सावधान

काठमाडौं, साउन २९ – नेपालमा सेयर बजारमा लगानीकर्ताको संख्या करिब ७० लाख पुगिसकेको छ। यसैको फाइदा उठाउँदै साइबर स्क्यामरहरूले सेयरको लोभमा पारेर बैंक खाता रित्याउने प्रवृत्ति बढाएको नेपाल प्रहरीले जनाएको छ।
साइबर अपराधीहरूले ‘सेयर कारोबारमा सजिलै कमाई’ गर्ने प्रलोभन देखाएर मालवेयर एप वा फाइल डाउनलोड गर्न लगाउँछन्। एप इन्स्टल गरेपछि पीडितको व्यक्तिगत जानकारी र बैंक विवरण ह्याक गरिन्छ, र रकम सीधै अर्का खातामा सारिन्छ।
नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार स्क्यामरहरूले मोबाइल एप (APK फाइल) र कम्प्युटरमा इन्स्टल हुने (.exe) फाइल प्रयोग गरी ठगी गरिरहेका छन्। यी फाइलहरू प्रायः फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा प्रायोजित विज्ञापनमार्फत पठाइन्छन्।
स्क्यामरहरूले ‘स्पोन्सर भएर सेयर कारोबार गर्न सकिन्छ’, ‘भिडियो अनलाइन हेर्न र बस्न सकिन्छ’, ‘बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म लाइभमा बसेर सेयर कारोबारसम्बन्धी जानकारी लिन सकिन्छ’ जस्ता सन्देशयुक्त विज्ञापन तयार गरी प्रयोगकर्तालाई आकर्षित गर्ने गरेका छन्।
पछिल्लो घटना
मंगलबार मात्र, एक पीडितको बैंक खाताबाट २८ लाख १६ हजार रुपैयाँ नेप्से एआई नामक एपमार्फत ह्याक गरी सारिएको उजुरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा दर्ता भएको छ। उक्त एप सामाजिक सञ्जालमार्फत ‘सेयर बजारमा सजिलै कमाई’ गर्ने भन्दै डाउनलोड गर्न सुझाइएको थियो।
सावधान! विश्वभर १६ अर्ब पासवर्डहरू इन्टरनेटमा लिक – कतै तपाईंको Account पनि जोखिममा त छैन ?
नेपाल प्रहरीले लगानीकर्तालाई आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्न, अनजान विज्ञापन वा लिङ्कमा क्लिक नगर्न, र आफ्नो बैंक खाता विवरण कसैसँग नबाँड्न आग्रह गरेको छ। साथै, बैंक खातामा अस्वाभाविक गतिविधि देखिए तत्काल सम्बन्धित बैंक र प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
मोबाइल प्रयोग गर्दा देखिने विज्ञापनमा अनावश्यक रूपमा क्लिक नगर्न आग्रह
तपाईंको प्रतिक्रिया