विशेषज्ञ चिकित्सकको विदेश पलायन बढ्दा नेपालमा स्वास्थ्य संकटको खतरा

 श्रावण ३१, २०८२

✍ लेखा खबर संवाददाता


नेपालका चिकित्सक विदेश पलायनका कारण स्वास्थ्य सेवा अभाव

काठमाडौं, साउन ३० – नेपालका दक्ष र विशेषज्ञ चिकित्सकको विदेश पलायन तीव्र रूपमा बढ्दै गएको छ, जसले देशको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन संकट निम्त्याउने चेतावनी विज्ञहरूले दिएका छन्।

नेपाल मेडिकल काउन्सिलका तथ्यांक अनुसार गत आर्थिक वर्ष मात्र २,६८१ चिकित्सकले विदेश अध्ययन वा रोजगारीका लागि ‘चारित्रिक प्रमाणपत्र’ लिएका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिका, त्यसपछि बेलायत, माल्दिभ्स, अष्ट्रेलिया, भारत र क्यानडाका लागि प्रमाणपत्र लिने गरेको देखिन्छ।

नेपालमा हाल ३८,४९९ दर्ता चिकित्सकमध्ये करिब ११,००० मात्र विशेषज्ञ छन्। नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजालका अनुसार तीव्र पलायनका कारण विशेष गरी उपत्यका बाहिर कार्डियोलोजिस्ट, न्युरोसर्जन, भास्कुलर सर्जन, प्लास्टिक सर्जन जस्ता दक्ष जनशक्ति पाउनै गाह्रो हुने अवस्था आएको छ।

“३५ वर्षसम्म अध्ययन गरेर तयार भएको जनशक्तिलाई स्वदेशमै टिकाउन नसके स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्छ,” डा. रिजालले भने।

कारणहरू

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार चिकित्सकहरूको विदेश पलायनका मुख्य कारणमा पेसागत सुरक्षा अभाव, उचित सुविधा नपाइनु, पदपूर्तिमा ढिलाइ र अवसरको कमी रहेका छन्। काठमाडौँ उपत्यकाबाहिर अझै धेरै दरबन्दी खाली रहेका छन्।


विशेषज्ञ अभावका कारण उपचार खर्च बढ्ने, बिरामीले लामो दूरी यात्रा गर्नुपर्ने र केहीले उपचार नै नपाउने अवस्था आउन सक्ने विशेषज्ञहरूको चेतावनी छ। सरकारी छात्रवृत्तिमा पढेर तयार भएका चिकित्सक विदेशिनु राज्यको लगानीमा समेत हानि हुने बताइन्छ।

विश्व स्वास्थ्य सङ्गठनका मापदण्डअनुसार नेपालमा १०,००० जनसंख्यामा ४४ स्वास्थ्यकर्मी आवश्यक भए पनि हाल औसत १० जना मात्र उपलब्ध छन्। आगामी वर्षहरूमा यो अनुपात सुधार नहुँदा स्वास्थ्य सेवा अभाव गहिरिने प्रक्षेपण छ।

विदेशमा मृत्यु हुने नेपाली श्रमिकको शव पोस्टमार्टम अब अनिवार्य


विज्ञहरूका अनुसार चिकित्सकलाई स्वदेशमै टिकाउन सेवा–सुविधा, पेसागत सुरक्षा, र करियर विकासका अवसर बढाउनु जरुरी छ। अन्यथा, दक्ष जनशक्ति पलायनले नेपालमा स्वास्थ्य संकटलाई दीर्घकालीन रूपमा गहिर्याउनेछ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5