उत्कृष्ट लिसा (LISA) स्कोरसहित अर्जुनचौपारी देशकै मोडेल पालिका

काठमाडौं, भदौ ४ – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन Local Government Institutional Capacity Self-Assessment (LISA)मा ९८% औसत स्कोर ल्याउँदै आर्थिक वर्ष २०८०/८१ का लागि देशकै मोडेल पालिका बनेको छ।
सेवा प्रवाहदेखि पूर्वाधारसम्म उत्कृष्ट प्रदर्शन
यस वर्षको मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिकाले विभिन्न सूचकमा उच्चतम अंक दाबी गरेको छ।
- शासकीय प्रवन्ध, संगठन तथा प्रशासन – १००
- वार्षिक बजेट तथा योजना व्यवस्थापन – १००
- वित्तीय एवम् आर्थिक व्यवस्थापन – १००
- सेवा प्रवाह – १००
- न्यायिक कार्य सम्पादन – १००
- सामाजिक समावेशीकरण – १००
- सहकार्य र समन्वय – १००
- भौतिक पूर्वाधार – ९२.३१
- वातावरण संरक्षण तथा विपद व्यवस्थापन – ८८.८९
यी सबै सूचकको आधारमा अर्जुनचौपारीले ९८% औसत स्कोर हासिल गरेको हो।
राष्ट्रिय स्तरको पहिचान बोकेका अध्यक्ष प्रकाश तिवारीको योगदान
स्थानीय नेतृत्वलाई नयाँ सोच र पारदर्शी शैलीमा अघि बढाएको योगदानका कारण अध्यक्ष प्रकाश तिवारी ‘अनलाइनखबर ४० मुनिका ४०’ अवार्डबाट समेत सम्मानित भएका छन्। यसले उनलाई न केवल अर्जुनचौपारीकै सफल नेतृत्वकर्ता, तर देशभरका युवा राजनीतिज्ञ तथा व्यवस्थापकीय नेताहरूका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गराएको छ।
अध्यक्ष प्रकाश तिवारीले पालिकामा पदभार सम्हालेपछि जनप्रतिनिधिको सेवा-सुविधाबाट १० प्रतिशत कटौती गरी सामाजिक उत्तरदायित्व कोष स्थापना गरेर फरक पहिचानको सुरुवात गरे। शिक्षा क्षेत्रमा कडा कदम चाल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर उल्लेखनीय स्तरमा पुर्याए। २०७९ मा कक्षा ३, ५ र ८ मा क्रमशः २४.२, १७.१ र १२.८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका भए पनि, २०८१ मा यो दर क्रमशः १००, ९७.६ र ९२.९ प्रतिशतमा पुर्याउन सफल भए। स्वास्थ्य क्षेत्रमा ‘नागरिकलाई टेवा, घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रममार्फत सेवा विकेन्द्रीकरण गर्दै शनिबार समेत स्वास्थ्य संस्था खुला गर्ने अभ्यास सुरु भयो।
तिवारीको नेतृत्वमा पालिकाले पूर्वाधार, आन्तरिक राजस्व र आर्थिक सबलीकरणमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। २०७९ सम्म पक्की सडक नभएको पालिकामा अहिले २० किलोमिटरभन्दा बढी सडक निर्माण भइरहेको छ। आमा समूह र विपन्न नागरिकलाई बीउ पूँजी कार्यक्रममार्फत आईपीओमा लगानी गर्ने अवसर दिइएको छ भने, नवग्रह मन्दिर, नवग्रह कृषि फार्म, लामडाँडा होमस्टे र औद्योगिक ग्राम जस्ता योजनाले रोजगारी सिर्जना र पहिचान निर्माणमा मद्दत पुर्याएका छन्। तिवारीले ल्याएको यी सुधारात्मक कार्यक्रमहरूले अर्जुनचौपारीलाई लिसा मूल्याङ्कनमा देशकै उत्कृष्ट पालिका बन्ने आधार तयार पारेका छन्।
राष्ट्रिय गौरव र सम्मान
अर्जुनचौपारी गाउँपालिकाले प्राप्त गरेको यो उपलब्धि स्थानीय बासिन्दाका लागि मात्र नभई गण्डकी प्रदेश र देशभरकै लागि गौरवको विषय बनेको छ। संघीय सरकारले आउँदो भदौ ६ गते सिंहदरबारमा आयोजना हुने “समान तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली” शुभारम्भ कार्यक्रममा मन्त्रीस्तरीय सम्मान प्रदान गर्ने जनाएको छ।
तपाईंको प्रतिक्रिया