पैसा र प्रतिभा दुवै पलायन: एक वर्षमा शिक्षाका नाममा विदेशियो १ खर्ब ३८ अर्ब

 भदौ १०, २०८२

✍ लेखा खबर संवाददाता


नेपाली विद्यार्थी विदेश अध्ययनका लागि निस्किँदा पैसा र प्रतिभा पलायन

काठमाडौँ, भाद्र १० । देशमै सयौँ विश्वविद्यालय र उच्च शैक्षिक संस्था सञ्चालनमा हुँदाहुँदै पनि नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेशिने क्रम ह्वात्तै बढेको छ। यसको सीधा असर नेपालको अर्थतन्त्रमा देखिएको छ, जहाँ शैक्षिक शुल्कबापत ठूलो मात्रामा धनराशी मुलुकबाट बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ। यो आँकडा अघिल्लो वर्षको तुलनामा १३ अर्ब ३५ करोड रुपैयाँले बढी हो, जसले नेपाली युवा र उनीहरूका परिवारको बढ्दो विदेशमोहलाई स्पष्ट देखाउँछ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा शैक्षिक गतिविधिमा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ विदेशिएको थियो।

यसले नेपालको उच्च शिक्षाको गुणस्तर र रोजगारीका अवसरमाथि गम्भीर प्रश्न खडा गरेको छ। विशेषज्ञहरूका अनुसार, गुणस्तरीय शिक्षा, आकर्षक रोजगारीको सम्भावना र विकसित देशको जीवनशैलीको खोजीमा युवाहरू विदेश पलायन भइरहेका छन्।

यसको व्यापक प्रभाव नेपालको समग्र सेवा व्यापार घाटामा पनि देखिन्छ। केन्द्रीय बैंकका अनुसार, सेवा खाताअन्तर्गत गत आर्थिक वर्षमा नेपालको खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष यो घाटा ५५ अर्ब ८६ करोड रुपैयाँ थियो। शिक्षा र भ्रमणमा भएको अत्यधिक खर्च नै यो घाटाको मुख्य कारण हो।

यद्यपि, सोही अवधिमा भ्रमण आय भने सामान्य वृद्धि भएको छ। आव २०८१/८२ मा भ्रमणबाट ८८ अर्ब ६६ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको ८२ अर्ब ३३ करोड रुपैयाँको तुलनामा ७.७ प्रतिशतले बढी हो। तर, शिक्षा र भ्रमणमा बाहिरिएको कुल धनराशिको तुलनामा यो आय निकै कम छ।

सगरमाथा आरोहण: कुन देशका नागरिकले सबैभन्दा धेरै शिखर चुमे?

अहिले देशको ध्यान कसरी युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा र आकर्षक रोजगारीको वातावरण सिर्जना गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ। अन्यथा, देशबाट पैसा र प्रतिभा दुवै बाहिरिने क्रमले भविष्यमा थप चुनौतीहरू निम्त्याउने निश्चित छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?