२ कोठे घरदेखि करोडौंको मसला उद्योगसम्म : तीजको रङमा रंगिएको आत्मनिर्भरताको कथा

काठमाडौँ, भाद्र १० । आज देशभर हरितालिका तीज मनाइँदैछ, नाचगान, व्रत र दरको यो पर्व महिलाको आत्मबल, संघर्ष र सहनशीलताको प्रतीक पनि हो। यसै सन्दर्भमा रुपन्देहीको बुटवलस्थित रिशी एग्रो फुड इन्डस्ट्रीजकी मालिक तारा पाण्डेको जीवनगाथा तीजकै आत्मालाई झल्काउने एक प्रेरणादायी उदाहरण बनेको छ।
“छोराले मार्केटिङ हेर्छ, म प्रोडक्सन सम्हाल्छु,” मुस्कुराउँदै तारा भन्छिन्। उनको यो मुस्कान पछाडि लुकेको छ, साधारण किराना पसलदेखि करोडौंको कारोबार गर्ने मसला उद्योगसम्मको अविश्वसनीय यात्रा।
सानाे किराना पसलदेखि ठूलो सपनाको यात्रा
२०३० साल कात्तिक २९ गते भारतको आसाममा जन्मिएकी तारा चार वर्षको उमेरमै आमासँग नेपाल आइन्। गुल्मीको रूपाकोटमा हुर्केकी उनले किशोरावस्थामै भारतीय सेनामा कार्यरत ऋषिराम पाण्डेसँग विवाह गरिन्। वैवाहिक जीवनका अनेक उतारचढावबीच उनले दुई सन्तान हुर्काइन् र नवलपरासीको मिसरौलीमा दुई कोठे घरमै किराना पसल चलाउँदै नौ वर्ष बिताइन्।
“मलाई केही नगरी बस्न मनै लाग्दैन,” तारा भन्छिन्। यही जोशले उनले श्रीमान्सँगै ५० हजार रुपैयाँ संकलन गरिन् र दाङ-रोल्पासम्म पुगेर मसला र खाद्य सामग्री ल्याएर बुटवल र रुपन्देहीका बासिन्दासम्म पुर्याउन थालिन्। ५० हजारको लगानी ३ लाखमा परिणत भयो, र ३ लाखबाट ६ लाख बन्यो। व्यापार फस्टाउँदै जाँदा उनीहरूले बुटवलमा आफ्नै घरसमेत जोडे।
पिडा र संघर्षको परीक्षा
तर, २०७० सालतिर जीवनमा ठूलो विपत्ति आइलाग्यो। श्रीमान् दुर्घटनामा परे र उनको उपचारमा करोडौं रुपैयाँ खर्च भयो। यो विपत्तिले ताराको साहस र धैर्यलाई भने डगाउन सकेन। परिवार, भविष्य र व्यापारको बोझ एकैसाथ सम्हाल्दै उनले संघर्षलाई अवसरमा परिणत गरिन्।
सफलता र सम्मानकाे शिखर

२०७७ सालमा ताराले ‘रिशी एग्रो फुड इन्डस्ट्रीज’ स्थापना गरिन्। आज यो उद्योगबाट चुक, बेसार, जिरा, धनियाँ, मेथी, तेलसहित ४५-५० प्रकारका मसलाहरू उत्पादन हुन्छन्। “करिब एक करोड जुटाएर उद्योग खडा गर्यौं,” उनी भन्छिन्, “अहिले दैनिक ८० हजारदेखि एक लाखसम्म कारोबार हुन्छ।”
लकडाउनको समयमा पनि उद्योग एक दिन पनि बन्द भएन। श्रमिकहरूलाई सुरक्षा दिँदै निरन्तर उत्पादन गरिरहेकाले तारालाई घरेलु तथा साना उद्योग कार्यालय सिद्धार्थनगर र बुटवल उपमहानगरपालिकाले ‘उत्कृष्ट महिला उद्योगी’को सम्मान प्रदान गरेका छन्।
आज तारा बिहान ९ बजेदेखि साँझ ९ बजेसम्म उद्योगमै व्यस्त हुन्छिन्। “यो उद्योग मेरो जीवन हो,” उनी भन्छिन्, “काम गर्दा नै आनन्द लाग्छ।” उनको यो समर्पणले छोरालाई समेत प्रेरित गरेको छ, जसले अहिले उद्योगको मार्केटिङको काम सम्हाल्दै छन्।
युवा उद्यमी गृष्मा पौडेलले “मनै देखि नेपाल” मार्फत नेपालको हस्तकला क्षेत्रमा उज्यालो ल्याउँदै
तारा पाण्डेको यो संघर्षमय यात्राले तीजको वास्तविक सन्देश बोकेको छ— साधारण किराना पसलदेखि करोडौंको उद्योगसम्म पुग्ने साहस, धैर्यता र आत्मनिर्भरता। आजको तीजमा उनको कथा हजारौं महिलाका लागि आशा र प्रेरणाको दीप बनेको छ।

तपाईंको प्रतिक्रिया