इन्डक्सन चुलोले मधेसी महिलालाई दिएको सहजता: समय बचत र स्वास्थ्यमा सुधार

धुवाँमुक्त भान्सा र आर्थिक बचत: कसरी परिवर्तन हुँदैछ जीवनशैली?
काठमाडौं, भदौ ११ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-३, वीरन्द्र बजारमा बस्ने २८ वर्षीया अर्चना कुमारी महरा अहिले सहजतापूर्वक भान्सामा खाना पकाइरहेकी छिन्। दुई सन्तानकी आमा महराले केही महिनाअघि इन्डक्सन (विद्युत) चुलो प्रयोग गर्न थालेपछि उनको दैनिक जीवनमा ठूलो परिवर्तन आएको छ।
“अहिले त केही मिनेटमै खाना तयार हुन्छ,” महरा मुस्कुराउँदै भन्छिन्। उनका लागि यो चुलो केवल एक उपकरण मात्र होइन, वर्षौंदेखि धुवाँ र दाउरामा बाँधिएको जीवनबाट मुक्ति पनि हो।
जीवन फेरिदिएको इन्डक्सन चुलो
पहिले उहाँलाई बिहानै उठेर दाउरा संकलन गर्नुपर्ने र घण्टौँसम्म धुवाँमा बस्नुपर्ने बाध्यता थियो। “१२ वर्षदेखि, विवाहअघि र पछि दाउरा खोज्ने, पकाउने काममै समय सकिन्थ्यो। अहिले भने इन्डक्सनले जीवन नै फेरिदिएको छ,” उनले भनिन्। धुवाँले छोपिएको भान्सा, बालबालिकाको स्वास्थ्यमा असर, आँखा पोल्ने समस्या र विद्यालय ढिलो पुग्ने अवस्थाबाट उनी मुक्त भएकी छिन्। तर, विद्युत आपूर्ति अस्थिर भएकाले महराको आँगनमा अझै दाउराको थुप्रो देखिन्छ।
त्यसैगरी, धनुषाकी रहमत खातुनले इन्डक्सन चुलो प्रयोग गरेपछि स्वास्थ्य र खर्च दुवैमा सुधार भएको बताइन्। “ग्यास सिलिन्डर १,९०० रुपैयाँ पर्छ, मुस्किलले २५ दिन चल्छ। इन्डक्सनमा त महिनाको ७-८ सयमै काम चल्छ,” उनले भनिन्। यसै वडाकी ६९ वर्षीया थली माया तामाङले भने दुई वर्षअघि चुलो लिन अस्वीकार गरे पनि अहिले छिमेकी महिलालाई सजिलै खाना पकाएको देखेर पश्चाताप भइरहेको सुनाइन्। “ग्यासभन्दा सस्तो, सजिलो र छिटो छ। अब त जसरी भए पनि चुलो चाहिन्छ,” उनले भनिन्।
अभियान र चुनौती
मधेश प्रदेश सरकारले दाउरा प्रयोग कम गर्न आक्रामक अभियान सुरु गरेको छ। दाउरा र गोबरको धुवाँले महिलामा आँखाको रोग, फोक्सो र गर्भाशयसम्बन्धी समस्या बढाएको तथ्याङ्कले देखाउँछ। सन् २०२१ को राष्ट्रिय जनगणनाअनुसार नेपालका ६६ लाख ६० हजार घरधुरीमध्ये ५१ प्रतिशतले अझै दाउरा, ४४.३ प्रतिशतले एलपी ग्यास, ०.५ प्रतिशतले मात्र बिजुली, २.९ प्रतिशतले गोबरको गुइँठा, १.२ प्रतिशतले बायोग्यास र ०.१ प्रतिशतले मट्टीतेल तथा अन्य इन्धन प्रयोग गर्छन्।
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख तुलसा कुमारी पाण्डे भन्छिन्, “धुवाँ महिलाको मौन घातक हो। हाम्रो नगरपालिकामा झन्डै ७० प्रतिशत घरधुरी अझै दाउरा वा गोबरकै भरमा छन्।” नगरपालिकाले हालै एडीबी (एशियाली विकास बैंक), नेपाल सरकार र नर्वे सरकारको सहकार्यमा इन्डक्सन चुलो वितरण कार्यक्रम सुरु गरेको छ। अहिलेसम्म १,००० घरधुरीमा चुलो र प्रेसर कुकर वितरण भइसकेको छ। “दुई वर्षमा ५,००० घरधुरीमा पुर्याउने हाम्रो लक्ष्य हो,” पाण्डेले भनिन्।
विशेषज्ञहरूले पनि यसलाई महिला सशक्तीकरण र स्वास्थ्य सुधारसँग जोडेर हेरेका छन्। प्राविधिक सहयोग समन्वयक लाछना श्रेष्ठाचार्य भन्छिन्, “यो केवल चुलो मात्र होइन, महिलाको स्वास्थ्य, समय र सम्मानसँग सम्बन्धित विषय हो।”
२ कोठे घरदेखि करोडौंको मसला उद्योगसम्म : तीजको रङमा रंगिएको आत्मनिर्भरताको कथा
यद्यपि, सबैले अझै दाउरा प्रयोग छोड्न सकिरहेका छैनन्। विद्युत आपूर्ति अस्थिर रहँदा दाउरा अझै ‘ब्याकअप’का रूपमा देखिन्छ। तर पनि, महिलाहरूका लागि इन्डक्सन चुलो केवल एक उपकरण मात्र नभई धुवाँ र दुःखको जीवनबाट मुक्ति दिने “स्वतन्त्रताको प्रतीक” बन्दै गएको छ।
तपाईंको प्रतिक्रिया