रुवीको हत्या स्वीकार्दै फेसबुकमा भिडियो पोष्ट, पासवानले आफैंलाई पनि आगो लगाए

काठमाडौं, भदौ ११ । रौतहटकी रुवी साहको हत्या गरेको स्वीकार गर्दै लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । उक्त भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्पष्ट रुपमा स्वीकार गरेका छन् ।
भिडियोमा उनले रुवीलाई मारेपछि आफ्ना हात काँपिरहेको र अब बाँचेर कुनै अर्थ नदेखेको बताएका छन् । उनले भनेका छन्, “रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरी जान मरेकी छिन् । म बाँचेर के गर्नु ? पक्राउ परे जेल जानुपर्छ, १०-१५ वर्ष सजाय भोग्नुपर्छ ।”
पासवानले भिडियोमार्फत रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरू खुलाएका छन् । उनका अनुसार रुवी हत्या हुनु अघि व्युटी पार्लरबाट उनको कोठामा आएकी थिइन् र उनीहरूबीच “एकअर्का बिना बाँच्न नसक्ने” भन्ने कुरा भएको थियो । उनले भनेका छन्, “मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ ।”
स्कुल जीवनदेखि नै सम्बन्ध रहेका उनीहरूले पछि अदालतमा गएर बिहे गरेको समेत पासवानले बताएका छन् । गरिबी र पारिवारिक तनावकै कारण आफूले रुवीको हत्या गरेको उनले उल्लेख गरेका छन् । गत शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका-९ मुडवालगेटमा भेटिएको सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव फेला परेको थियो । भारतको मुजफ्फरपुर घर भएकी र माधवपुरकी माइती रुवी गौरमा डेरा लिएर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।
रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत
प्रहरीको प्रारम्भिक अनुसन्धानले रुवीलाई गौरमै घरमा हत्या गरी शवलाई रिक्सामा राखेर सडकमा फालिएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आज बिहान माधव नारायण नगरपालिका-६ स्थित नहर नजिक आफ्नै शरीरमा आगो लगाएको अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर अस्पताल पठाइएको छ ।
तपाईंको प्रतिक्रिया