वायु प्रदूषण घटे नेपालीको आयु ३.३ वर्षले बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन

काठमाडौं, १३ भदौ । नेपालमा वायुप्रदूषणलाई विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको सुरक्षित स्तरमा घटाउन सक्ने हो भने नेपालीले औसतमा ३.३ वर्ष आयु वृद्धि गर्ने सम्भावना रहेको एक नयाँ अध्ययनले देखाएको छ। यो तथ्यांक युनिभर्सिटी अफ शिकागो अन्तर्गतको एनर्जी पॉलिसी इन्स्टिच्युट (EPIC) ले बिहीबार सार्वजनिक गरेको एयर क्वालिटी लाइफ इन्डेक्स २०२५ (Air Quality Life Index 2025) प्रतिवेदनमा उल्लेख गरिएको हो। प्रतिवेदनले नेपालको जीवन प्रत्याशामा सबैभन्दा ठूलो बाह्य जोखिम वायुप्रदूषण नै रहेको औंल्याएको छ।
२०२३ मा PM2.5 सघनता WHO सीमा भन्दा ७.६ गुणा बढी
सन् २०२३ (वि.सं. २०८०) मा नेपालको औसत PM2.5 सघनता ३८.३ माइक्रोग्राम प्रति घन मिटर पुगेको थियो, जुन २०२२ भन्दा १० प्रतिशत बढी र WHO को वार्षिक सुरक्षित सीमा (५ माइक्रोग्राम) भन्दा ७.६ गुणा बढी हो। PM2.5 भन्नाले फोक्सो र रगतसम्म प्रवेश गर्ने सूक्ष्म, विषालु कणलाई जनाइन्छ।
रौतहट, महोत्तरी र बारा सबैभन्दा प्रदूषित जिल्ला
प्रतिवेदन अनुसार, रौतहट, महोत्तरी र बारा जिल्लाका बासिन्दाले सबैभन्दा बढी विषाक्त वायु श्वास फेरेका छन्। त्यहाँको वायुप्रदूषणलाई WHO को स्तरमा ल्याउन सकिए मानिसको औसत आयु ५.२ वर्षले बढ्ने अनुमान गरिएको छ। प्रदेशस्तरमा हेर्दा मधेश प्रदेश सबैभन्दा प्रदूषित छ भने त्यसपछि कोशी प्रदेश, जहाँ प्रदूषण नियन्त्रण भए आयु ३.६ वर्षसम्म बढ्न सक्छ।
नेपालको ४० प्रतिशत जनसंख्या बसोबास गर्ने मध्य र पूर्वी तराई क्षेत्रमा जीवन प्रत्याशा ४.७ वर्षले बढ्न सक्ने देखिएको छ। काठमाडौं उपत्यकामा भने प्रदूषणले मानिसको औसत आयु २.६ वर्षले घटाएको प्रतिवेदनमा उल्लेख छ।
२५ वर्षमा ७४ प्रतिशतले बढेको प्रदूषण
सन् २०२३ मा नेपालकै सबैभन्दा बढी PM2.5 सघनता रौतहट (५९.५ माइक्रोग्राम) मा मापन गरिएको थियो। त्यसपछि महोत्तरी (५९.२) र बारा (५८.९) क्रमशः दोस्रो र तेस्रो प्रदूषित जिल्लाका रूपमा देखिएका छन्। प्रतिवेदनले सन् १९९८ देखि २०२३ सम्म नेपालको PM2.5 स्तर ७४ प्रतिशतले बढेको र त्यसले जीवन प्रत्याशामा १.६ वर्षको ह्रास गरेको जनाएको छ। स्वास्थ्य जोखिमका अन्य कारणसँग तुलना गर्दा पनि वायुप्रदूषण अझ घातक छ। नेपालमा धूमपानले जीवन प्रत्याशा १.९ वर्षले घटाउँछ भने भोजनसम्बन्धी खराब बानीले १.३ वर्ष घटाउँछ।
यो समस्या नेपाल मात्र नभई सम्पूर्ण दक्षिण एशियामा समान छ। सन् २०२३ मा दक्षिण एशियामा वायु प्रदूषण २०२२ भन्दा २.८ प्रतिशतले बढेको थियो। यसले दक्षिण एशियालीको औसत जीवन प्रत्याशा ३ वर्षले घटाएको छ। विश्वव्यापी रूपमा वायुप्रदूषणले जीवन प्रत्याशा १.९ वर्षले घटाउँछ, जुन धूमपानजस्तै घातक तर मदिरा, सडक दुर्घटना वा एचआईभी/एड्सभन्दा निकै खतरनाक देखिन्छ।
बसाइसराइ गरेर पोखरा आउनेको संख्या अघिल्लो बर्षको तुलनामा घट्दो: के पोखराको आकर्षण घटेकै हो त ?
विशेषज्ञको चेतावनी र समाधानको सुझाव
“वायुप्रदूषण विश्वभर जीवन छोट्याउने प्रमुख कारणको रूपमा कायम छ,” एयर क्वालिटी लाइफ इन्डेक्सकी निर्देशक तनुश्री गांगुलीले भनिन्। उनका अनुसार, धेरै देशहरूले आर्थिक विकाससँगै वायु प्रदूषण घटाउन सफल भएका छन्। “फसिल इन्धनलाई स्रोतमै नियन्त्रण गर्नु स्थानीय वायु सफा गर्नुका साथै जलवायु परिवर्तनसँग जुध्न पनि महत्त्वपूर्ण हुन्छ। तर, पहिलो र सबैभन्दा जरुरी कदम भनेकै आफ्नै वायु गुणस्तरबारे राम्रो ज्ञान हुनु हो,” उनले जोड दिइन्।
यो प्रतिवेदन प्रत्येक वर्ष प्रकाशित हुन्छ र यस वर्षको विश्लेषण सन् २०२३ (वि.सं. २०८०) को तथ्यांकमा आधारित छ।
तपाईंको प्रतिक्रिया