दशैँका लागि राष्ट्र बैंकले नयाँ नोट नछाप्ने, सुकिला नोट साट्ने व्यवस्था

 भदौ १५, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, भाद्र १५। दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको अनुसार यस वर्ष नयाँ नोट छापिने छैन, तर मैला नोटहरू सुकिला नोट सँग साट्ने व्यवस्था गरिएको छ।

बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो । 

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामा भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।” 

चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७-६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको  थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् । 

यसरी चाडपर्वको समयमा आर्थिक कारोबारमा सफा र राम्रो हालतका नोटहरूको उपलब्धता सुनिश्चित गरिनेछ भने नयाँ नोट छपाइमा राज्यकोषबाट धेरै खर्च उठ्ने भएकाले यस पटक नयाँ नोट छपाइ गरिएको छैन भन्ने कुरा राष्ट्र बैंकले जनाएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5