५ महिनामै ३ हजार २९१ विपद्: आगलागी सबैभन्दा बढी, १९१ जनाले ज्यान गुमाए

काठमाडौं, भाद्र १४ – गएको बैशाखदेखि भदौ १४ गतेसम्मको पाँच महिनामा नेपालले ३ हजार २९१ विपद्का घटनाहरू सहनुपरेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामध्ये सबैभन्दा बढी आगलागीका घटना भएका छन्।
प्राधिकरणले तयार पारेको विवरणअनुसार पाँच महिनामा मात्र ५ हजार ९६३ परिवार विपद्बाट प्रत्यक्ष प्रभावित भएका छन्। यस अवधिमा २२ जना बेपत्ता भएका छन् भने ७७४ जना घाइते भएका छन्।
सबैभन्दा बढी आगलागीका १ हजार १९७ घटना दर्ता भएका छन्। ती घटनाबाट १५ जनाले ज्यान गुमाएका छन् भने १६५ जना घाइते भएका छन्। बाढीले समेत ठूलो क्षति पुर्याएको छ । यस अवधिमा बाढीबाट २७ जनाको ज्यान गएको छ, २२ जना बेपत्ता भएका छन् भने १० जना घाइते भएका छन्। बाढीले ७७८ परिवारलाई विस्थापित वा प्रभावित पारेको छ। यस्तै, पहिरोका ६८ घटना दर्ता हुँदा १८ जनाले ज्यान गुमाएका छन्, २८ जना घाइते भएका छन् भने ८१ परिवार प्रभावित भएका छन्। भारी वर्षाका २६६ घटनामा ६ जनाको मृत्यु, १२ घाइते र ११ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।
चट्याङले पनि ठूला क्षति पुर्याएको छ। पाँच महिनामा २५८ चट्याङका घटनामा ३१ जनाले ज्यान गुमाएका छन् र ३१७ परिवार प्रभावित भएका छन्। त्यसैगरी सर्पदंशका २६८ घटनामा ७२ जनाले ज्यान गुमाएका छन् भने २०२ जना घाइते भएका छन्। ७२ परिवार प्रभावित भएका छन्।
डढेलोका १५८ घटनामा २ जना मात्र घाइते भए पनि २७ परिवार प्रभावित भएका छन्। हावाहुरीका २८० घटनामा ८ जनाको मृत्यु, ४१ जना घाइते र ५३६ परिवार प्रभावित भएका छन्। प्राधिकरणले जनावर आक्रमणबाट १५ जनाले ज्यान गुमाएको पुष्टि गरेको छ। त्यस्तै, लेक लागेर ४९, भूकम्पबाट ५, डुङ्गा पल्टेर २, असिना र महामारीबाट एक-एक जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।
प्राधिकरणले विपद्को उच्च जोखिमलाई दृष्टिगत गर्दै सतर्कता अपनाउन, सावधानीमा बस्न र सम्भावित बिपदबाट जोगिन पूर्वतयारी गर्न आग्रह गरेको छ।
तपाईंको प्रतिक्रिया