खोटाङमा विद्यालय भवन बनाउँदा २४ लाखको घोटाला, जि.शि.अ सहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, भाद्र १५ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ स्थित लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको बिद्यालय भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाएको छ । अख्तियारका अनुसार, आर्थिक वर्ष २०७१/७२ मा उक्त विद्यालयमा चारकोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख रुपैयाँ र २५ प्रतिशत जनश्रमदानसहित कुल ३० लाख रुपैयाँको लागतमा सम्झौता भएको थियो। तर, अख्तियारको स्थलगत अनुसन्धान तथा प्राविधिक प्रतिवेदनले फिल्डमा जम्मा २ लाख ७२ हजार ३२८ रुपैयाँ बराबरको मात्र काम भएको देखाएको छ।
अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू डा. गणेश प्रसाद भट्टराई (१० लाख बिगो), केशव प्रसाद दाहाल (१४ लाख बिगो) र ज्ञानमणि नेपाल (१४ लाख बिगो) विरुद्ध मुद्दा दायर गरेको छ।
त्यसैगरी, जिल्ला शिक्षा कार्यालयकै तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य (१० लाख बिगो), लेखापाल सुरेश कुमार श्रेष्ठ (२४ लाख बिगो) र सब-इन्जिनियर शिवराज राई (२४ लाख बिगो) विरुद्ध पनि आरोपपत्र दायर भएको छ।
सब-इन्जिनियर राईलाई गलत कार्यसम्पन्न प्रतिवेदन बनाएकोमा थप कारबाहीको माग गरिएको छ।
यता, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू पृथ्वी दाहाल (८ लाख बिगो) र शेष कुमार पौड्याल (८ लाख बिगो र थप ५ लाख १२० रुपैयाँ हिनामिना) तथा तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्र प्रसाद दाहाल (८ लाख बिगो), ऋषिराम पोखरेल (८ लाख बिगो) र नयन कुमार राई (५ लाख १२० रुपैयाँ हिनामिना) लाई पनि प्रतिवादी बनाइएको छ।
विद्यालयकी तत्कालीन लेखापाल सीता कार्की (१६ लाख बिगो र थप ५ लाख १२० रुपैयाँ हिनामिना) र भवन निर्माणको जिम्मेवारी पाएका अर्जुन तामाङ (१६ लाख बिगो) लाई पनि मतियारको कसुरमा मुद्दा दायर गरिएको छ।
अख्तियारले सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न मागदाबी गरेको छ।
तपाईंको प्रतिक्रिया