हिमाल आरोहणबाट नेपाललाई ६४ करोड राजस्व, सगरमाथाबाट सबैभन्दा बढी आम्दानी

काठमाडौँ, भाद्र १७। नेपालमा हिमाल आरोहण गर्ने पर्वतारोहीको संख्या बढेसँगै राजस्व आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ संकलन भएको छ।
सगरमाथाबाट सबैभन्दा बढी राजस्व
गत वर्ष सगरमाथा हिमालमा ३०२ पुरुष र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए। यसबाट मात्रै रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको विभागले जनाएको छ।
कञ्चनजङ्घा र मकालुमा सफल आरोहण
ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमाल (८५५६ मि.) मा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आरोहण गरे। यसबाट करिब रु १ करोड ९७ लाख ४६० राजस्व संकलन भएको छ।
त्यस्तै, सङ्खुवासभाको मकालु हिमालमा ६६ आरोहीले पाइला टेकेका थिए, जसबाट रु १ करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको छ।
पर्यटन विभागका तथ्याङ्कअनुसार गत वर्ष २३ हिमाल तथा पिकमा ८६९ आरोही (६७८ पुरुष र १९१ महिला) ले सफल आरोहण गरेका थिए। अरू संसारका सबैभन्दा अग्ला चुचुरोहरूमध्ये आठ वटा नेपालमा छन्। सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल हुन्। यी हिमालहरूमा हुने हिमाल आरोहणबाट नेपालले हरेक वर्ष उल्लेख्य राजस्व आर्जन गर्दै आएको छ।
जलवायु परिवर्तनको चुनौती
तर, हिमाल पर्यटनसँगै जलवायु परिवर्तनको जोखिम बढिरहेको अध्ययनहरूले देखाएका छन्। इसिमोडको प्रतिवेदनअनुसार कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ भने हिमतालहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।
भन्सारमा भ्रष्टाचारको जालो: कसरी गुम्दैछ अरबौं सरकारी राजस्व?
विज्ञहरूका अनुसार, यदि तत्काल जलवायु अनुकूलन रणनीति नअपनाइएमा हिमनदीको तीव्र ह्रास भई जलस्रोत, जैविक विविधता र खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्नेछ।
तपाईंको प्रतिक्रिया