बिहान सबेरै र राति प्रेसर कुकर सिटी नलगाउ : उपत्यका प्रहरीले उर्दी जारी गर्दै अनावश्यक ध्वनी प्रदुषण नगर्न अनुरोध

काठमाडौं भाद्र १९। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले आज एउटा उर्दी जारी गर्दै शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गरेको छ ।
विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बालबालिका, वृद्धवृद्धालाई असर गर्ने उक्त कार्यालयले जनाएको छ । ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाहहरु दिएको छ ।
राति अनावश्यक आवाज ननिकाल्न फोन गर्दा आवाज कम गर्ने र हेडफोन प्रयोग गर्न प्रहरीको सुझाव छ । प्रहरीको अनुरोधमा भनिएको छ, ‘फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ । प्रहरीको अर्को अनुरोध छ, ‘भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगरौँ । राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौँ, आवश्यकताअनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔँ ।’
त्यस्तै बिहानको शान्ति कायम गर्न प्रहरीको यस्तो अनुरोध छ
- बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने नगरौं ।
- गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौँ ।
- मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकालौं, ठूलो आवाज आएमा छिमेक भन्दा पर लगी चालु गरौँ ।
राति शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन प्रहरीको अनुरोध छ । बिहान सबेरै र राति प्रेसर कुकरमा सिटी नलगाउन पनि प्रहरीको अनुरोध छ । घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण गर्न पनि प्रहरीको अनुरोध छ साथै सडकमा अनावश्यक हल्ला नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै सामाजिक र धार्मिक क्रियाकलापमा पनि सचेत बन्न प्रहरीको अनुरोध छ । ‘धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनि नियन्त्रण गरौँ । मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा/प्रार्थना गरौं,’ प्रहरीको अनुरोध छ । सवारी साधनको हर्न बजाउने वा मोडिफाई गरी ठूलो आवाज निकालेर नचलाउन पनि प्रहरीको अनुरोध छ ।
ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने भन्दै प्रहरीले सावधान गराएको छ ।

तपाईंको प्रतिक्रिया