दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय, प्राधिकरणलाई निर्देशन
काठमाडौं, भाद्र १४- सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल कम्पनीलाई दिएको मध्यरातसम्मको अल्टिमेटम सकिए पनि फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), युट्युब, गुगल, जीमेललगायतका प्रमुख प्लेटफर्महरू अझै सामान्य रूपमा सञ्चालनमै रहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) का अनुसार तोकिएको समयसीमासम्म कुनै पनि कम्पनीले दर्ता प्रक्रिया सुरु गरेको छैन।
गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै दर्ता नभएका प्लेटफर्मलाई सात दिनभित्र दर्ता गर्न निर्देशन दिएको थियो। तर अल्टिमेटम सकिएर आज बिहान प्रवेश गर्दा पनि कुनै प्रतिक्रिया नआएको एनटीए स्रोतले जनाएको छ। अधिकारीहरूका अनुसार पूर्ण रूपमा बन्द गर्ने वा आंशिक रूपमा नियन्त्रण गर्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन।
पूर्ण बन्दले सरकारी पत्राचारदेखि कानुनी सूचना प्रवाहसम्म अवरुद्ध हुने, जीमेल र गुगल सर्चजस्ता सेवा बन्द गर्दा नागरिकको सूचनाको अधिकार हनन हुने जोखिम भएकाले आंशिक अवरोध गर्ने सम्भावना बढी देखिएको बताइन्छ।
हाल नेपालमा भाइबर र टिकटक मात्र आधिकारिक रूपमा दर्ता भएका छन् भने टेलिग्राम दर्ता प्रक्रियामा रहेको छ। फेसबुक, एक्स, इन्स्टाग्राम, ह्वाट्सएप र लिङ्कडइनजस्ता सबैभन्दा धेरै प्रयोग हुने प्लेटफर्म भने अझै दर्ता हुन बाँकी छन्।
मन्त्रालयले दर्ता भएका कम्पनीलाई नेपालमै सम्पर्क व्यक्ति तोक्नुपर्ने, गुनासो व्यवस्थापन अधिकारी राख्नुपर्ने र नियमन अनुगमन अधिकारी नियुक्त गर्नुपर्ने प्रावधानसमेत तोकेको छ।
यो अभियान सर्वोच्च अदालतको आदेश र २०२३ को सामाजिक सञ्जाल प्रयोग नियमन निर्देशिका अन्तर्गत अघि बढाइएको हो। सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा जानकारी दिँदै मेटा (फेसबुकको मातृ कम्पनी) ले पटक-पटक नेपालमा दर्ता गर्न अस्वीकार गरेको बताएका थिए।




तपाईंको प्रतिक्रिया