चियामा अडिएको हाम्रो जिन्दगी !!

काठमाडौं भाद्र १९ । पहिलो चुस्कीसँगै गाउँ नै थर्किने गरी देश विकासका विभिन्न योजनाहरू दिमागमा ल्याउने चिया कुनै सामान्य चीज होइन । अझ नेपाली समाजमा सर्वमान्य पेय पदार्थको अलङ्कार भिरेको यसले राष्ट्रिय पेय पदार्थ हुनेसम्मको हैसियत नराख्ला भन्न सकिँदैन । जुनसुकै उमेर समूहले पनि मन पराउने चियाका केही विशेषता लेख्न सायदै सकिएला तर केवल शब्दहरूमा यसको महत्व दर्शाउन किमार्थ सकिँदैन किनभने चिया यस्तो भावनात्मक विषय हो, जसको व्याख्याको कुनै सीमा भेटिँदैन ।
चियाले मन आनन्दित तुल्याउँछ, दिमागलाई एकत्रित बनाउँछ । यसमा हुने टेनिन नामको पदार्थले क्यान्सर जस्तो घातक रोगबाट बचाउन मद्दत पुर्याएर शारीरिक स्फूर्ति कायम त राख्छ नै, यसले देशको सामाजिक र आर्थिक अवस्थामा पनि निकै ठूलो योगदान गरेको हुन्छ । चियाको वर्णन गर्दैगर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कसरी छुट्याउन सकिन्छ र जो पहिले चिया बेच्ने गर्दथे । अझ पाकिस्तानका अर्साद खान त झन् चिया पकाउँदै गरेको फोटो भाइरल भएर अहिले मोडलिङ गर्छन् अरे ।
कुनै कार्यालयमा बैठक हुँदा सबैभन्दा आवश्यक के होला ? जवाफमा भन्नुहोला– मिटिङसँग सम्बन्धित विषय र कागजपत्र । होइन, मिटिङमा सबैभन्दा आवश्यक छ, चिया । छलफलको विषय होस् नहोस् तर चिया भने अनिवार्य होस् । चियाको पहिलो चुस्की लिनासाथ विषयहरू त आफैँ एकपछि अर्को गरेर आइहाल्छन् नि । त्यसरी पनि आएनन् भने अर्को कप फेरि मगाउँला । मलाई त चिया बिनाको मिटिङ पनि मिटिङ हो र ? जस्तो लाग्छ । आफैं विचार गर्नू न, चिया बिनाको मिटिङको कुनै औचित्य देखिन्छ त ?
हाम्रो दैनिकीमा चिया यसरी घुसेको छ कि हाम्रो हरेक दिनको सुरुवात यसैबाट हुन्छ । चिया हाम्रो खानापछिको डेजर्ट हो, जसपश्चात् मात्रै हाम्रो खानाले पूर्णता पाउँछ । कसैसँगको वार्तालाप सुरुवात गर्दा होस् वा पाहुनालाई स्वागत तेर्छ्याउँदा, चिया हाम्रो प्राथमिकताको पहिलो शब्दमा पर्छ । पेट फुट्ने गरी अघाउन्जेल खाजा खाएपनि चिया मुखमा नपर्दासम्म हाम्रो भोक नै मर्दैन ।
बिहान होस् या रात, जाडो होस् या गर्मी चिया पाएपछि नाई भन्ने हामी कमै मात्र हुन्छौँ । हामी अल्छी लाग्दा पनि चिया बनाएर खान्छौँ, जाँगर चल्दा पनि चिया नै बनाएर खान्छौँ । निद्रा बोलाउन होस् या हटाउन होस् हामी चिया नै रोज्छौँ । जाडोमा न्यानोपन अनि गर्मीमा शीतलता चियामै खोज्छौँ । एकान्तमा हुँदा वा साथीहरुको जमातमा, चिया नै मगाउँछौँ । खुसीमा होस् वा दुःखमा हामी, चिया मै रमाउँछौँ । यति धेरै उपयोगिता भएरै त होला हामीले हरेक दिनको सफलता दिनभरिमा रित्याएकाे चियाको कपमा नाप्छौँ ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ, जस्तो सुकै अवस्थामा पनि हामीलाई चिया नै चाहिन्छ । अपरेसन सकिएपछि केही खान नपाएपनि कालो चिया चै खान पाइन्छ । ग्यास्ट्रिक हुँदा दूध नराखेर होस् वा मधुमेह हुँदा चिनी नराखेर होस् अथवा रुघाखोकी लाग्दा कागती राखेर होस् हामीलाई चिया भने खानै पर्छ । अचम्म त त्यतिबेला लाग्छ, जब कसैले होटेलमा भन्छन् “साउनी, एक कप चिनी नराखेको कालो चिया है ।”
चियाको बारेमा केही साथीहरुलाई आफ्नो धारणा सोध्न मन लाग्यो । “चिया त मेरो लागि अमृत समान हो । कुनै बेला राती १ बजेपनि मैले चिया पकाएर खाएको छु ।”, गुनगान गाउँदै साथी कबिर फुयालले सुनाए । अर्का एकजना साथीले भने, “चिया मेरो लागि सबथोक हो । चिया पिउनकाे लागि मात्रै म कैयौँ पटक त्रिचन्द्र कलेज गएको छु । बाक्लो दूधको चिया दिनमा ५/७ पटक नखाए त चिया खाएको जस्तो नै लाग्दैन ।” अनि म पनि त उस्तै, चिया पिउनै लागि एकपटक क्लासबाट भागेर कीर्तिपुरसम्म पुगेको छु ।
हामी चियाको लागि के सम्म गर्न सक्छौँ भन्ने कुरा सामाजिक सञ्जालहरुमा छरपस्ट देख्न पाइराखिन्छ । कुनै तिर्खाएको व्यक्ति १ किलोमिटर हिँडेर पानी खानुभन्दा १० किलोमिटर हिँडेर चिया खान रुचाएको तस्वीर त हामी सबैले देखेकै हौँला । अलिक अस्ति हदै सम्मको कुरा सुनेँ । चिया खानको लागि के सम्म गर्न सक्छौ भनेर एक जनाले सोध्दा उताबाट जवाफ आयो अरे, “एकपटक केटी हेर्नसम्म गएको छु ।”
यसरी चियाको मात्र गुनगान गाइरहँदा अन्य पेयपदार्थ प्रेमीकाे आपत्ति नहोला भन्न त सकिँदैन तर सम्पूर्ण कच्चा पदार्थहरू नेपालमै उत्पादन हुने चिया विदेशबाट आयातित अन्य पेय पदार्थभन्दा कैयौँ गुणा किफायती हुन्छ । अझ वार्षिक प्रतिव्यक्ति आय १०३९ डलर हुने नेपालीको रु. २० पर्ने चियाको ठाउँ अरू कुनै पनि चीजले लिन सक्दैन भन्नेमा दुईमत नहाेला । त्यसैले त, चिया हाम्रो मोबाइल जस्तै हो, जहाँ गएपनि हामीलाई चाहिन्छ नै चाहिन्छ । चिया बिनाको जिन्दगी भनेको नुनबिनाको तरकारी जस्तै लाग्छ, एकदम फिक्का फिक्का । आफैं बुझ्नू न यसको महत्व कति होला जब यो लेख लेख्दासम्म मैले ३ वटा चियाको कप रित्याइसकेँ ।

– कौशल पाण्डे
तपाईंको प्रतिक्रिया