पूजा लामाको पुनरागमन : साहसी सुरुवातदेखि संघर्ष र १९ वर्षपछि फिर्तासम्म

काठमाडौँ, २० भदौ – मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी पूजा लामा एक समयमा नेपालकै पहिलो साहसी फोटोशूटका कारण निकै चर्चामा आएकी थिइन्। प्रशंसा र आलोचना दुवै पाइन्, तर त्यो निर्णयले उनलाई फरक पहिचान दिलायो। त्यही पहिचानले उनलाई गायनतर्फ पनि डोर्यायो, जहाँ ‘चियाबारीमा हो चियाबारीमा’ जस्ता गीतहरूले दर्शकको मन जिते।
तर अचानक उनी मिडियाबाट हराइन्। गीत, पर्दा र प्रकाशन सबैबाट टाढा हुँदा धेरैले सोचे, पूजा गायब भइन्। वास्तविकता भने फरक थियो। प्रेम सम्बन्धमा असफलता, स्क्यान्डल र भावनात्मक चोटले उनलाई डिप्रेशनमा धकेल्यो। भित्रभित्रै चुँडिँदै जाँदा उनी करिअर मात्र होइन, आफ्नो जीवनबाट पनि हराउन बाध्य भइन्।
नयाँ जीवन यात्रा सुरु गर्न उनले आफ्नो पहिचानसम्म बदलिन्। पूजा लामाबाट ‘अम्ना फारुकी’ बनेर उनले आफ्नो जीवनलाई पुनःनिर्माण गर्ने प्रयास गरिन्। तर लामो समयसम्म सार्वजनिक जीवनबाट टाढा रहनुपर्ने अवस्था आयो।
अहिले भने करिब १९ वर्षपछि उनी फेरि मिडियामा देखिन थालेकी छिन्। यसपटक उनी अझ बलियो, परिपक्व र आत्मविश्वासी भएर फर्किएकी छन्। हालै बहराइनमा स्टेज शो गर्दा उनले दर्शकको अप्रत्याशित प्रतिक्रिया पाएकी छिन्, जसले उनलाई फेरि आत्मविश्वास दिलाएको छ।
पूजाले आफूले भोगेको संघर्षको कारण परिवार र आफ्नै पहिचान गुमाएको बताउँछिन्। तर एक मात्र साथ दिने आमा नै थिइन्। उनी भन्छिन्, “आमाले सधैं मलाई साथ दिनुभयो, हौसला दिनुभयो। यदि सुरुमा आमाको कुरा सुनेको भए, धेरै घटना मेरो जीवनमा घट्दैनथे।”
यो पनि पढ्नुहोस: चियामा अडिएको हाम्रो जिन्दगी !!
उनको जीवनले देखाएकोछ सफलता र संघर्ष दुवै यात्रा हो। मोडलिङमा साहसी कदमबाट चर्चा कमाएकी पूजा लामाको पुनरागमन आज धेरैका लागि प्रेरणा बन्न सक्छ।
तपाईंको प्रतिक्रिया