मुस्ताङको कोरला नाका खुलेको ५ दिनमा २०९ वटा ईभी र १०७ ट्रक सामान आयात, ३४ करोड राजस्व उठ्यो

 असोज ०५, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं , असोज ५ । कोरला नाका खुलेको ५ दिनमा सो नाकाबाट २०९ वटा विद्युतीय कार आयात भएको छ । रसुवाको रसुगढी नाका र तातोपानी नाका बन्द भएपछि खुलेको मुस्ताङको सो नाका खुल्नेवित्तिकै व्यवस्त भएको हो।

अर्थ मन्त्रालयका अनुसार असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास भएका छन् । यसबाट ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल यस नाकामा आसिकुडा प्रणाली समेत सञ्चालन भइसकेको छ । नेपाल राष्ट्र बैंकले पनि भदौ ३१ गते परिपत्र जारी गर्दै मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकिकृत परिपत्र–२०८१ मा समावेश गरी सहजीकरण गरिसकेको छ ।

गत असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द छ । तातोपानी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा चीन र नेपालबीचको वैदेशिक व्यपारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) भदौ ३० गतेबाट पूर्णरुपमा सञ्चालनमा आएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5