सुशासनको मागमा प्रदर्शन: सामूहिक गिरफ्तारी दिन अघि बढेको ढुंगाना समूहलाई सरकारी वकिल कार्यालय अगाडि रोक्यो प्रहरीले

 पुष ०७, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं, पुष ७ – ‘चुनाव होइन सुशासन’ भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराज ढुंगानासहितका जेनजी र युवा प्रतिनिधिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वपक्षीय सरकार गठन र सुशासनको माग गर्दै सोमबार प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले कारबाही गरेको हो।

प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा ढुंगानासहितको समूहले सामूहिक गिरफ्तारी दिनेभन्दै जिल्ला प्रहरी परिसर काठमाडौँतर्फ जान खोज्दा प्रहरीले रोकेको छ। प्रहरीले रोकेपछि अहिले उनीहरू जिल्ला सरकारी वकिलको कार्यालय अगाडी प्रदर्शन गरिरहेका छन्। प्रहरीले भद्रकालीतर्फ जान पनि रोक लगाएको छ।

प्रदर्शनमा कसको सहभागिता?

मिराज ढुंगाना, रविकिरण हमाल र निकोलस भुसाल लगायत युवा प्रतिनिधिहरू प्रदर्शनमा सहभागी थिए।

प्रमुख माग के हो?

प्रदर्शनमा सहभागीहरूको मुख्य माग सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने रहेको छ। ‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्ने नारासहित उनीहरूले प्रदर्शन गरेका थिए।

प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेको छ।

प्रशासनले अनुमति दिएको थिएन

यसअघि मिराज ढुंगानासहितका युवाहरूले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए। तर, प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन। अनुमतिविना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

आइतबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर ढुंगानासहितले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका थिए। प्रदर्शनलाई लक्षित गरी माइतीघर क्षेत्र वरपर प्रहरीको तैनाथी बढाइएको थियो।

के भयो घटनाक्रम?

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि केहीबेरमा नै केहीलाई छाडेको पनि जानकारी छ। तर, प्रहरीको यो कदमले प्रदर्शनकारीहरू थप आक्रोशित भएका छन्।

सामूहिक गिरफ्तारी दिनेभन्दै जिल्ला प्रहरी परिसर जान खोज्दा प्रहरीले उनीहरूलाई रोकेको हो। त्यसपछि उनीहरू जिल्ला सरकारी वकिलको कार्यालयअगाडि प्रदर्शन गर्न बाध्य भएका हुन्।

माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति रहेको र मिडियाकर्मीको पनि उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

तपाईंको प्रतिक्रिया