नेपाली क्रिकेटले गुमायो एक उदाउँदो प्रतिभा : कोशी प्रदेशका क्रिकेटर मिनष थापाको निधन
काठमाडौं, पुष १० – विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनष थापाको निधन भएको छ। २७ वर्षीय थापाको बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
मिनष थापा कोशी प्रदेशका चर्चित र आशालाग्दा क्रिकेट खेलाडीका रूपमा परिचित थिए। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग (PPL) खेलेका थिए भने कोशी प्रदेशको तर्फबाट विभिन्न फ्रेन्चाइज तथा प्रतियोगितामा सहभागिता जनाइसकेका थिए।
उनको असामयिक निधनले नेपाली क्रिकेट जगतमा शोक छाएको छ। खेलकुद क्षेत्रका सहकर्मी, समर्थक र क्रिकेटप्रेमीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।




तपाईंको प्रतिक्रिया