बालेनले देश विकास पार्टी को कार्यालय खोले, दलीय औपचारिक कदम
काठमाडौँ, ११ पुस — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा औपचारिक प्रवेश गरेका छन्।बालेनले देश विकास पार्टी नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराउँदै ललितपुरको ज्वागलमा पार्टी कार्यालयसमेत स्थापना गरेका छन्।
बालेनले बिहीबार विभिन्न राजनीतिक दलका प्रतिनिधि र युवा पुस्ता (Gen-Z) का प्रतिनिधिलाई बोलाएर आफू दलीय राजनीतिमा प्रवेश गरेको जानकारी गराएका थिए। प्रारम्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालसँग सहकार्य गरेर अघि बढ्ने विकल्पबारे छलफल गरेका थिए।
तर ती दलहरूसँगको वार्ता अपेक्षित रूपमा सकारात्मक नभएपछि बालेनले आफैँ पार्टी सञ्चालन गर्ने निष्कर्षमा पुग्दै कार्यालय खोल्ने निर्णय गरेका हुन्।
लौरो चुनाव चिन्हसहित दल दर्ता
बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा लौरो चुनाव चिन्ह सहित दर्ता भइसकेको छ। स्मरणीय छ, २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गर्दा बालेनले यही लौरो चुनाव चिन्ह प्रयोग गरेका थिए।
बालेनको पार्टी कार्यालय ललितपुरको ज्वागलमा स्थापना गरिएको छ। बिहीबार दिनभर बालेन आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक छलफलमा संलग्न थिए भने उनका नजिकका समर्थकहरू पार्टी कार्यालयको डेकोरेसन र अफिस सेटअप को काममा व्यस्त देखिएका थिए।
बालेननिकट स्रोतका अनुसार,
“ज्वागलमा कार्यालय खोल्ने पूर्वतयारी पहिल्यै गरिएको थियो। अब पार्टीका सम्पूर्ण गतिविधि यहीँबाट सञ्चालन हुनेछन्।”
काठमाडौँ महानगरका मेयरको रूपमा चर्चामा रहेका बालेनको यो कदमले नेपाली राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ। अब उनको नयाँ दलले कुन खालको राजनीतिक दिशा लिन्छ भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा ध्यान केन्द्रित भएको छ।
मन्त्री कुलमानको १०० दिनमा १०१ काम: जिर्ण र अपुरा ठेक्का तोड्नेदेखि बुढीगण्डकीको मोडालिटीसम्म




तपाईंको प्रतिक्रिया