म ठिक छु…..
आत्मसम्मान जोगाउन अहिलेको युवापुस्ता नक्कली हाँसो हास्न बाध्य छ
काठमाडौं, पुष १० – ‘म ठिक छु’ तीन शब्द छोटा, शान्त, तर भित्र एउटा पूरै आँधी बोकेका। आजको युवाले सबैभन्दा धेरै प्रयोग गर्ने वाक्य यही हो, र सबैभन्दा कम सत्य पनि यही।
युवावस्था आफैंमा एउटा यात्राजस्तै हो, जहाँ हरेक मोडमा प्रश्न उभिन्छन् । म को हुँ ? म कहाँ जाँदै छु? मेरो भोलि के हुनेछ? यी प्रश्नहरूको उत्तर खोज्दै गर्दा मन थाक्छ, आत्मा अलमलिन्छ। तर समाजले युवाको थकान देख्न चाहँदैन। उसलाई चाहिएको हुन्छ सधैं मुस्कुराइरहने, आत्मनिर्भर देखिने, कमजोर नहुने एउटा अनुहार। यही अपेक्षाको भारी बोकेर युवा भन्छ ‘म ठीक छु।’ तर यो ‘ठीक छु’ प्रायः सत्य होइन, एउटा सुरक्षा कवच हो।
भावना व्यक्त गर्नु कमजोरी ठानिने समाजमा मौन नै सुरक्षित विकल्प बन्छ। परिवारले नबुझ्ला कि भन्ने डर, समाजले औँला ठड्याउला कि भन्ने आशंका, र मानसिक पीडालाई अझै पनि लाजको विषय बनाइने संस्कार, यी सबैले युवाको स्वर घाँटीमै थुन्छन्। यसरी जन्मिन्छ एउटा मौन, जहाँ हाँसो अनुहारमा टाँसिएको हुन्छ, तर भित्र एक्लोपन बगिरहेकै हुन्छ। जहाँ भविष्यको डर छ, असफलताको पीडा छ, र आत्ममूल्यको क्षय छ। यी भावनाहरू जब लामो समयसम्म दबाइन्छन्, तब मनभित्रको घर भत्किन थाल्छ आवाज नआउने तर गहिरो चिरा परेका।
यस्तो बेला प्रश्न उठ्छ के हामी साँच्चै युवालाई सुन्छौं ? कि केवल उनीहरूको ‘म ठीक छु’ मा सन्तोष मान्छौं? युवालाई उपदेश चाहिएको होइन, सुनिने कान चाहिएको हो। आलोचना होइन, अपनत्व चाहिएको हो। जब सुरक्षित वातावरण मिल्छ, तब मात्रै युवाले आफ्नो मौन तोड्न सक्छ, शब्दहरू बिस्तारै बाहिर आउँछन्, घाउहरू बोल्न थाल्छन्। किनकि सत्य यही हो ‘म ठीक छु’ सधैं ठीक भएको घोषणा होइन। कहिलेकाहीँ त्यो सहयोगको मौन पुकार पनि हुन्छ।
आजको नेपालमा जेन–जी पुस्ताको ‘म ठीक छु’ अझ गहिरो अर्थ बोकेर उभिएको छ। यो पुस्ता राजनीतिक अस्थिरताको छायाँमा हुर्किएको हो जहाँ अनुहार फेरिएनन्, केवल भाषण फेरिए। जहाँ सपनाहरू रोजगारीको अभावमा थाक्दै गए, र भविष्य पासपोर्टभित्र कैद हुन थाल्यो। सडकमा आवाज उठे पनि निर्णय हुने कोठामा युवाको सिट खाली नै रह्यो।
त्यसैले जेन–जीले नयाँ बाटो रोज्यो, ढुंगा होइन, विचार ; नारा होइन, प्रश्न ; हिंसा होइन, चेतना। यहाँ ‘म ठीक छु’ भन्नु अब आत्मसमर्पण होइन, संयम हो। भित्र विद्रोहको आगो छ, बाहिर धैर्यको खोल। यो पुस्ता चिच्याउँदैन, तर बुझ्छ। तुफान जस्तो हुँदैन, तर समुद्रजस्तै गहिरो हुन्छ। त्यसैले आजको ‘म ठीक छु’ को अर्थ यस्तो छ ‘म चुप छु, तर अन्धो छैन। म थाकेको छु, तर समाप्त भएको छैन।’
-डा. दिलीप अधिकारी
आवासीय चिकित्सक, NAMS




तपाईंको प्रतिक्रिया