भ्रमको पर्खाल : आलोचनाबाट सत्ता कब्जासम्म र एउटा राष्ट्रको पतन

 माघ १३, २०८२

✍ लेखा खबर संवाददाता


लोकप्रियतावादी नेतृत्वका कारण आर्थिक संकट र सामाजिक विभाजनमा परेको काल्पनिक देशको प्रतीकात्मक चित्र

धेरै समय पहिले, ‘नेपालय’ नामको एउटा समृद्ध नभएनि शान्त देश थियो। त्यहाँका जनता सोझा र मिहिनेती तर नेता भने फटाहा थिय, समयसँगै देशमा केही आर्थिक समस्याहरू देखा पर्न थाले। ठ्याक्कै यही मौकाको पर्खाइमा थियो ‘रविन्द्र’।

आलोचनाबाट सुरु भएको उदय

रविन्द्रसँग न त स्पष्ट योजना थियो, न दीर्घकालीन भिजन। तर ऊसँग एउटा खतरनाक शक्ति थियो – जनभावना भड्काउने कला। उसले देशका चोक-चोकमा उभिएर समाधान होइन, दोष देखाउन थाल्यो।

उसको भाषण सधैं एउटै ढाँचामा सीमित रह्यो – शासकहरू चोर हुन्, छिमेकी देश शत्रु हुन्, र शिक्षित वर्ग नै जनताको दुःखको मूल कारण हो।

यसरी उसले समाजका विभिन्न समूहलाई एक–अर्काको विपक्षमा उभ्यायो। जनतालाई विश्वास दिलाइयो कि देशको दुर्गति उनीहरूको गल्ती होइन, ‘अरू’ को षड्यन्त्र हो। यही भ्रमले रविन्द्रलाई “निडर सत्य बोल्ने नेता” का रूपमा स्थापित गर्‍यो।

सस्तो लोकप्रियताबाट सत्ता आरोहण

सत्तामा पुग्ने क्रममा रविन्द्रले यस्ता वाचा गर्‍यो, जुन सुन्दा आकर्षक तर व्यवहारमा असम्भव थिए-ऋण मिनाहा, निःशुल्क सेवा, बाह्य शक्तिलाई झुक्याउने दाबी।

जो प्रश्न सोध्थे, तर्क गर्थे, उनीहरूलाई ‘देशद्रोही’ को लेबल लगाइयो। बहसको ठाउँ नाराले लियो, र भीडको समर्थनसँगै रविन्द्र भारी बहुमतका साथ सत्तामा पुग्यो।

शासन होइन, दोषारोपण

सत्तामा पुगेपछि नेतृत्वको वास्तविक क्षमता उजागर भयो। अनुभवी विज्ञ र विशेषज्ञहरू हटाइए, अन्धभक्तहरू जिम्मेवार पदमा पुगे। अर्थतन्त्र कमजोर बन्दै जाँदा सुधारको सट्टा पुरानै अस्त्र प्रयोग गरियो-दोष अरूमाथि।

बैंक संकटलाई विदेशी षड्यन्त्र भनियो, खाद्यान्न अभावलाई व्यापारीको गल्ती ठहर गरियो। देशको ढुकुटी रित्तिँदै गयो, तर जनतालाई भ्रममा राख्न भव्य संरचना र प्रतीकात्मक परियोजनामा खर्च रोकिएन।

अन्ततः भोक, बेरोजगारी र आक्रोशले सीमा नाघ्यो। छिमेकीसँग सम्बन्ध बिग्रिसकेको थियो, उद्योग ठप्प थिए, र देश ऋणको भारले थिचिएको थियो।

एक समय फूलमाला लगाएर स्वागत गर्ने भीड नै सडकमा उत्रियो। तर तबसम्म ढिलो भइसकेको थियो। रविन्द्र देश छोडेर भाग्यो, तर ‘नेपालय’ विभाजन, अविश्वास र आर्थिक संकटको गहिरो खाडलमा फस्यो।

यो कथा केवल एउटा काल्पनिक देशको होइन। यो चेतावनी हो- जो नेता केवल घृणा, दोषारोपण र भ्रमको भरमा सत्तामा पुग्छ, उसले राष्ट्र निर्माण होइन, पतन मात्र निम्त्याउँछ।

आलोचना सजिलो हुन्छ तर राष्ट्र चलाउन विवेक, धैर्य र उत्तरदायित्व चाहिन्छ।

तपाईंको प्रतिक्रिया