आज मध्यरातदेखि निर्वाचन ‘मौन अवधि’ सुरु: उल्लंघन गरे उम्मेदवारी नै खारेज हुन सक्ने, यस्ता छन् पालना गर्नुपर्ने ८ नियम र मतदाताका कर्तव्य

 २ घण्टा अगाडि

✍ लेखा खबर संवाददाता


समानुपातिक बन्दसूची नाम फिर्ता २०८२ : १६४ उम्मेदवार फिर्ता

काठमाडौं, फागुन १८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) सुरु हुँदैछ। निर्वाचन आयोगले मतदान हुने ४८ घण्टा अघिदेखि मतदान नसकिएसम्मका लागि विशेष आचारसंहिता लागू गरेको छ।

किन आवश्यक छ मौन अवधि?

निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको प्रचारप्रसार, भीडभाड र सामाजिक सञ्जालको होहल्लाबाट मुक्त भई मतदाताले आफ्नो विवेक प्रयोग गरेर स्वतन्त्र निर्णय लिन सकुन् भन्ने उद्देश्यले यो अवधि तोकिएको हो। यो समयलाई “शान्त अवधिका” रूपमा समेत लिइन्छ।

मौन अवधिमा के गर्ने? (मतदाताका लागि अवसर)

१. विवेकपूर्ण निर्णय: उम्मेदवारहरूका एजेण्डा, अघिल्लो कार्यकालको काम र चुनावी घोषणापत्रबारे शान्त भएर मन्थन गर्ने।

२. मतदानको तयारी: आफ्नो मतदान केन्द्र कहाँ पर्छ र कति बजे पुग्ने भन्ने निश्चित गर्ने।

३. परिचयपत्रको सुरक्षा: आफ्नो मतदाता परिचयपत्र वा आयोगले तोकेका अन्य परिचयपत्रहरू (नागरिकता, राहदानी आदि) सुरक्षित राख्ने।

४. मतदान प्रक्रिया बुझ्ने: मतपत्रमा कसरी छाप लगाउने र कसरी पट्याउने भन्नेबारे जानकारी लिई मत बदर हुनबाट जोगाउने।

५. निगरानी: आफ्नो क्षेत्रमा कतै आचारसंहिता उल्लंघन (पैसा बाँड्ने, भोजभतेर गर्ने) भएको देखेमा तुरुन्त निर्वाचन आयोग वा सुरक्षाकर्मीलाई खबर गर्ने।

निर्वाचन आयोगका ८ मुख्य निषेधित बुँदाहरू:

१. प्रचारप्रसारमा पूर्ण रोक: कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइने छैन।

२. भोजभतेर र जुलुस निषेध: बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा कुनै पनि सभा-समारोह र होहल्ला गर्न पाइने छैन।

३. डिजिटल माध्यममा कडाइ: सामाजिक सञ्जाल, अनलाइन वा छापा माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश वा प्रचार सामग्री पोस्ट/सेयर गर्न पाइने छैन।

४. सञ्चार साधनको प्रयोग: साउन्ड सिस्टम, एसएमएस (SMS), वा सामाजिक सञ्जाल प्रयोग गरी मत माग्न पाइने छैन।

५. मतदानमा अवरोध पुर्याउन नहुने: मतदानको ३ घण्टा अघिदेखि मतदान नसकिएसम्म मतदाता वा कर्मचारीलाई बाधा पुर्याउने काम गर्नु हुँदैन।

६. पुराना सामग्री हटाउनुपर्ने: सामाजिक सञ्जालमा पहिले राखिएका विज्ञापन र प्रचार सामग्रीहरू उम्मेदवार वा दलले अनिवार्य हटाउनुपर्नेछ।

७. शान्ति भंग गर्न नहुने: मतदान केन्द्र वरिपरिको सार्वजनिक वा निजी स्थानमा भय, त्रास सिर्जना गर्ने वा शान्ति भंग गर्ने कार्य गर्न पाइने छैन।

८. प्रचार सामग्री हटाउनुपर्ने: मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका सबै दल वा उम्मेदवारका झण्डा र चिन्हहरू हटाउनुपर्नेछ।

नेपालको आईटी निर्यातमा ऐतिहासिक रेकर्ड: वार्षिक आम्दानी १ अर्ब डलर (डेढ खर्ब रुपैयाँ) पुगेको अनुमान

तपाईंको प्रतिक्रिया