हर्क साम्पाङको पार्टीबाट को-को बन्दैछन् सांसद? क्याप्टेनदेखि ‘जेनजी’ सम्मको इन्ट्री
काठमाडौं, चैत १ । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुङ्गो लगाएको छ। धरानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समावेशिता र दक्षतालाई ध्यान दिँदै अन्तिम नामावली तयार पारेको हो।
पार्टी प्रवक्ता सत्य घलेका अनुसार चार फरक क्लस्टरबाट एक पुरुष र तीन महिलाको नाम छनोट गरिएको छ। जसमा आदिवासी जनजातिबाट बृटिस गोर्खाका भूपू क्याप्टेन पूर्ण लिम्बू (सुनसरी) परेका छन् भने मधेसी महिलाबाट धनुषाकी ‘जेनजी’ युवा रुवीकुमारी ठाकुर छानिएकी छिन्। यस्तै, खसआर्यबाट अम्बिकादेवी सङ्ग्रौला (सुनसरी) र दलित महिलाबाट राधिका रम्तेल (सुर्खेत) को नाम टुङ्ग्याइएको छ।
समानुपातिक सांसद छान्न दलहरूलाई आज अन्तिम मौका: रास्वपा र कांग्रेसको निर्णायक बैठक बस्दै
पार्टी अध्यक्ष साम्पाङले युवा र फरक पृष्ठभूमिका व्यक्तिहरूलाई समेट्ने उद्देश्यले यो सूची तयार पारिएको बताएका छन्। सिट सङ्ख्या थोरै तर आकांक्षी धेरै भएपछि छनोटमा निकै सकस परे पनि अन्त्यमा क्लस्टर मिलाएर सन्तुलित टोली बनाइएको पार्टीले जनाएको छ।

तपाईंको प्रतिक्रिया