२७ दिनपछि इनिसा विकको अन्त्येष्टि गरिँदै: अदालतको आदेशपछि शव बुझ्न परिवार तयार
काठमाडौं, १९ चैत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको शव करिब एक महिना (२७ दिन) पछि आज आफन्तले बुझ्ने भएका छन्। गत फागुन २३ गते शंकास्पद अवस्थामा मृत फेला परेकी इनिसाको न्यायका लागि संघर्ष गरिरहेको परिवार अदालतको पछिल्लो आदेशपछि शव बुझ्न र अन्त्येष्टि गर्न तयार भएको हो।
आजै अन्त्येष्टि गरिने
परिवारका अनुसार आज (बिहीबार) दिउँसो भेरी पुल नजिकै रहेको सम्झिघाटमा इनिसाको अन्त्येष्टि गरिने तयारी छ। न्यायको माग गर्दै परिवारले विगत २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा रहेको शव बुझ्न इन्कार गर्दै आएको थियो।
जिल्ला अदालत सुर्खेतको फैसला र कानुनी प्रक्रिया
मंगलबार जिल्ला अदालत सुर्खेतले यस घटनामा बलात्कारपछि हत्याको अभियोगमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको थियो। अदालतले दोषीहरूलाई कानुनी प्रक्रियामा लगेसँगै पीडित परिवारले न्याय पाउने विश्वासमा शव बुझ्ने निर्णय गरेको हो।
इनिसा विक घटनाको पृष्ठभूमि: के भएको थियो?
वीरेन्द्रनगरको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जङ्गलमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको देखिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो। यो घटनालाई लिएर दोषीलाई कारबाहीको माग गर्दै सुर्खेतसहित देशका विभिन्न भागमा विरोध प्रदर्शनहरू भएका थिए।

तपाईंको प्रतिक्रिया