काठमाडौँ महानगरले साझा यातायातसँग मिलेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सञ्चालन गर्ने
काठमाडौं, १९ चैत । काठमाडौँ महानगरपालिकाले वैशाख १ गते (नयाँ वर्ष २०८३) देखि सहरका मुख्य दुई रुटमा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको यो सेवाले रातिको समयमा महँगो यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेको छ।
कुन-कुन रुटमा चल्नेछन् रात्रिकालीन बस?
महानगरले सुरुवाती चरणमा उत्तर-दक्षिण र पूर्व-पश्चिम जोड्ने दुईवटा मुख्य रुट तय गरेको छ:
१. उत्तर–दक्षिण रुट (१६ कि.मि.):
लगनखेल (ललितपुर) – पाटन अस्पताल – अल्का – नर्भिक – प्रसुति गृह – ट्रमा सेन्टर – वीर अस्पताल – कान्ति अस्पताल – टिचिङ अस्पताल – गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म।
२. पूर्व–पश्चिम रुट (२० कि.मि.):
थानकोट – सतुंगल – कलंकी – कालीमाटी – त्रिपुरेश्वर – थापाथली – माइतीघर – बानेश्वर – मीनभवन – तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म।
सेवाको समय र सुरक्षा
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार यो सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। हरेक २० मिनेटको अन्तरालमा बस स्टेशनमा बस आइपुग्ने सुनिश्चित गरिएको छ।
यात्रुको सुरक्षाका लागि बसमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने सुरक्षा व्यवस्था चुस्त राख्न नगर प्रहरी समेत परिचालन गरिनेछ।
टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक
किन आवश्यक थियो रात्रिकालीन बस?
“बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुँदा विद्यार्थी, महिला र न्यून आय भएका नागरिकले महँगो र असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ,” कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “विशेषगरी किशोरी र महिलाहरूले भोग्नुपर्ने दुर्व्यवहार रोक्न र विद्यार्थीहरूलाई आर्थिक राहत दिन यो सेवा सुरु गर्न लागिएको हो।”
महानगरले यो प्रणालीलाई अत्याधुनिक, एकीकृत र भरपर्दो बनाउँदै लैजाने र यसका लागि अन्य साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको समेत जनाएको छ।

तपाईंको प्रतिक्रिया