हर्मुज स्ट्रेटबाट कति जहाजले गरे ओहोरदोहोर, कति माथि भयो आक्रमण ?
इरान विरुद्धको युद्ध सुरु भएयता २७९ जहाजले हर्मज स्ट्रेट पार गरे भने २२ वटा आक्रमणको निशानामा परेको जहाज ट्रयाकिङ तथ्याङ्कले देखाएको छ।
काठमाडौँ, बैशाख २ । एलएसईजी (LSEG) र केप्लर (Kpler) को ढुवानी तथ्याङ्क अनुसार मंगलबार कम्तीमा तीनवटा ट्याङ्कर हर्मज स्ट्रेट हुँदै खाडी क्षेत्रमा प्रवेश गरेका छन्।
पनामाको झण्डा बोकेको ‘पिस गल्फ’ (Peace Gulf) इरानी जलक्षेत्रमा रहेको लाराक र हर्मज टापुहरूबीचको नयाँ मार्ग हुँदै संयुक्त अरब इमिरेट्सको हमरिया बन्दरगाह तर्फ अघि बढिरहेको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (IRGC) ले सबै जहाजहरूलाई यही नयाँ मार्ग प्रयोग गर्न निर्देशन दिएको छ।
यसअघि, अमेरिकाले प्रतिबन्ध लगाएका दुईवटा ट्याङ्करहरू ‘रिच स्टारी’ र ‘एल्पिस’ पनि यो रणनीतिक साघुरो जलमार्ग हुँदै अघि बढेका थिए। जलसन्धि पार गर्ने यी तीनवटै जहाजहरू इरानी बन्दरगाह तर्फ नगएकाले सोमबारदेखि लागू भएको अमेरिकी नाकाबन्दीको असर उनीहरूमा परेको छैन।
इरानी बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दी
अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) ले सोमबार बिहान १० बजे (जीएमटी १४:००) देखि ट्रम्पको राष्ट्रपतीय आदेश अनुसार इरानी बन्दरगाहहरूमा हुने समुद्री आवतजावतमा नाकाबन्दी सुरु गरेको जनाएको छ।
सेन्ट्रकमले यो नाकाबन्दी “इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा बाहिरिने सबै राष्ट्रका जहाजहरूमा लागू हुने” स्पष्ट पारेको छ। यसमा अरबी खाडी र ओमानको खाडीमा रहेका सबै इरानी बन्दरगाहहरू समेटिएका छन्।
यसको प्रतिक्रियास्वरुप तेहरानले छिमेकी खाडी मुलुकका बन्दरगाहहरूलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानले अधिकांश अन्तर्राष्ट्रिय ढुवानीका लागि हर्मज स्ट्रेट प्रभावकारी रूपमा बन्द गरिदिएको थियो।
वासिङ्टन र तेहरानले यो महत्त्वपूर्ण ऊर्जा मार्गमा चलिरहेका जहाजहरूलाई विरोधाभासपूर्ण निर्देशनहरू जारी गरिरहेका छन्, जसका कारण विश्वव्यापी ढुवानी क्षेत्रमा अन्योल बढेको छ।
इजरायली आक्रमणमा अल जजीराका पत्रकार मारिए; गाजामा ज्यान गुमाउने पत्रकारको संख्या २६२ पुग्यो
हर्मजमा वैकल्पिक मार्ग
युद्ध हुनुअघि जहाजहरूले विभाजित राजमार्ग जस्तै दुईवटा समर्पित लेनहरू प्रयोग गर्थे, जहाँबाट विश्वको एक-चौथाई तेल र ग्यास आपूर्ति हुन्थ्यो।
गत मार्च २ मा, आईआरजीसीका कमाण्डर-इन-चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जब्बारीले यो जलसन्धि “बन्द” भएको घोषणा गर्दै कुनै पनि जहाजले पार गर्न खोजेमा ती जहाजहरू जलाइदिने चेतावनी दिएका थिए। आईआरजीसीले पुरानो मार्गमा एन्टि-शिप माइनहरू हुन सक्ने भन्दै नयाँ नक्सा अनुसार मात्र जहाज चलाउन निर्देशन दिएको छ।
हर्मज स्ट्रेटबाट कति जहाज चले?
युद्ध सुरु भएयता हर्मज जलसन्धिमा जहाजको चाप ९५ प्रतिशतले घटेको छ। केप्लरको तथ्याङ्क अनुसार फेब्रुअरी २८ देखि अप्रिल १२ को बीचमा जम्मा २७९ जहाजले मात्र यो मार्ग प्रयोग गरेका छन्। युद्धअघि यो मार्गमा दैनिक करिब १०० जहाज चल्ने गर्थे।
अप्रिल ८ मा अमेरिका र इरानबीच युद्धविराम भए पनि त्यसयता जम्मा ४५ जहाजले मात्र जलसन्धिबाट आवतजावत गरेका छन्। इरान युद्धका कारण विश्वव्यापी तेल र ग्यास आपूर्तिमा २० प्रतिशतले कटौती भएको छ, जसलाई विश्वकै सबैभन्दा ठूलो इन्धन आपूर्ति अवरोध मानिएको छ।
यस युद्धले खाडी क्षेत्रको ऊर्जा उत्पादन केन्द्रहरूमा क्षति पु¥याएको छ र युद्ध सुरु भएयता तेलको मूल्य करिब ५० प्रतिशतले बढेको छ, जसको प्रत्यक्ष असर एसियाली खरीदकर्ताहरूलाई परेको छ।
कति जहाजमाथि भयो आक्रमण?
केप्लरको तथ्याङ्क अनुसार युद्ध सुरु भएयता हर्मज जलसन्धिमा २२ वटा जहाजहरूमाथि आक्रमण भएको छ।
जसमध्ये ८ वटा जहाज यूएईको जलक्षेत्रमा, ६ वटा ओमानमा, २-२ वटा इराक र कतारमा तथा बहराइन, कुवेत, साउदी अरब र इरानको जलक्षेत्रमा १-१ वटा जहाजमाथि आक्रमण भएको छ।

तपाईंको प्रतिक्रिया