नयाँ ट्राफिक नियम: अब हेलमेट नलगाए ३ हजार, मापसे र ओभरस्पिड गरे ५० हजारसम्म जरिवाना!
काठमाडौँ, असार ११। यदि तपाईं ट्राफिक नियमलाई हल्का रूपमा लिने गर्नुहुन्छ भने अब बानी सुधार्ने बेला आएको छ। सरकारले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउने बहानामा नियम उल्लङ्घन गर्नेहरू विरुद्ध निकै कडा र महँगो कानुनी प्रावधान ल्याउने तयारी गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ लाई विस्थापित गर्दै ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को नयाँ मस्यौदा तयार पारेको छ। उक्त प्रस्तावित विधेयकको दफा ६२ अनुसार अब ट्राफिक प्रहरीले ३९ वटा कसुरमा सडकमै तत्कालै ठूलो रकम जरिवाना गर्न सक्नेछ।
नयाँ मस्यौदामा कसुरको प्रकृति र सवारीको वर्गीकरण (दुई पाङ्ग्रे, साना, मझौला र ठूला) अनुसार जरिवानाको दर तोकिएको छ, जसले चालकहरूको होस उडाउन सक्छ।
मापसे (मादक पदार्थ सेवन) मा चर्को जरिवाना
नयाँ व्यवस्था अनुसार मापसे गरेर सवारी चलाएमा सबैभन्दा कडा जरिवाना प्रस्ताव गरिएको छ:
१. मोटरसाइकल / स्कुटर / तीन पाङ्ग्रे: २५ हजार रुपैयाँ
२. ट्याक्सी र निजी कार: ३५ हजार रुपैयाँ
३. माइक्रो, बस तथा ट्रक: ५० हजार रुपैयाँ
ओभर स्पिड (तीव्र गति) को जरिवाना
निर्धारित गति सीमाभन्दा बढी स्पिडमा गुडाएमा ५० हजारसम्म जरिवाना लाग्न सक्छ:
१. दुई वा तीन पाङ्ग्रे: २५ हजार रुपैयाँ
२. साना सवारी साधन (कार/जिप): ३५ हजार रुपैयाँ
३. मझौला तथा ठूला सवारी: ५० हजार रुपैयाँ
(नोट: गति सीमाभन्दा ५ प्रतिशतसम्म बढी भएमा जरिवाना लाग्ने छैन, तर तोकिएको भन्दा ६० प्रतिशत बढी स्पिड भएमा शतप्रतिशत जरिवाना लाग्नेछ। यस्तै, तोकिएको भन्दा कम गतिमा कुदाएमा पनि ३ देखि ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ।)
दुई पाङ्ग्रे (मोटरसाइकल/स्कुटर) का लागि विशेष नियम
१. हेलमेट नलगाएमा: ३ हजार रुपैयाँ (यसअघि ५ सय देखि १५ सयसम्म थियो)
२. पठाओ/इनड्राइभर जस्ता अफलाइन सेवा प्रदान गरेमा: २ हजार रुपैयाँ
३. दर्ता विपरीत अन्य प्रयोजनमा प्रयोग गरेमा: ५ हजार रुपैयाँ
मोबाइल फोन र लेन अनुशासन
सवारी चलाउँदा चलाउँदै मोबाइल फोन प्रयोग गरेमा, लेन अनुशासन पालना नगरेमा, फुटपाथमा गाडी गुडाएमा वा एकतर्फी (One-way) सडकमा विपरीत दिशाबाट आएमा सिधै १० हजार रुपैयाँ जरिवाना ठोकिनेछ।
मन्त्रीका सल्लाहकार र सचिवालयको नयाँ ढाँचा: विज्ञताको उपयोग कि कार्यकर्ता भर्ती?
बानी सुधार्नुस्: साना गल्तीमा पनि ठूलो रकम
१. कागजात साथमा नराखेमा: १ हजार रुपैयाँ (तर, डिजिटल पोर्टल वा नागरिक एपबाट देखाउन सके जरिवाना लाग्ने छैन)
२. निषेधित क्षेत्रमा हर्न बजाएमा: ५ सय रुपैयाँ
३. ओभरटेक गर्न नमिल्ने ठाउँमा गरेमा वा राति बत्ती नबाली चलाएमा: २ हजार रुपैयाँ
४. अवस्था ठिक नभएको (कन्डिसन बिग्रिएको) सवारी चलाएमा: ५ हजार रुपैयाँ
५. अपारदर्शी (कालो) सिसा राखेर भित्र नदेखिने बनाएमा: सिधै १ लाख रुपैयाँ जरिवाना!
सार्वजनिक यातायात (बस, ट्याक्सी, ट्रक) का लागि कडा फन्दा
सार्वजनिक सवारी साधनहरूले गर्ने लापरबाहीलाई रोक्न पनि विधेयकमा मोटो रकम जरिवानाको व्यवस्था छ:
१. बढी भाडा लिएमा वा भाडादर सूची नराखेमा: बस/माइक्रोलाई १० हजार, ट्याक्सीलाई ५ हजार र तीनपाङ्ग्रेलाई २ हजार रुपैयाँ।
२. ट्याक्सी मिटरमा जान नमानेमा: ३ हजार रुपैयाँ।
३. निर्धारित सिटभन्दा बढी यात्रु बोकेमा (लामो दूरी): २० हजार रुपैयाँसम्म जरिवाना (मध्यम दूरीमा १० हजार र छोटो दूरीमा ५ हजार)।
४. बीमा नगरी सवारी चलाएमा: सार्वजनिक सवारीलाई १० हजार र निजीलाई ५ हजार रुपैयाँ।
५. चालक र सहचालकले पोसाक वा परिचयपत्र नलगाएमा: ५ सय रुपैयाँ।
सुधार कि असुली धन्दा?
सडक दुर्घटना न्यूनीकरण र अनुशासन कायम गर्न कडा कानुन आवश्यक छ, यसमा दुई मत छैन। विकसित देशहरूमा पनि ट्राफिक नियम मिच्दा ढाड सेकिने गरी जरिवाना तिराइन्छ।
तर, नेपालको परिप्रेक्ष्यमा २५ हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना सामान्य नागरिकको आर्थिक हैसियतभन्दा निकै माथिको कुरा हो। कतिपय अवस्थामा जरिवानाको डरले चालकहरूले ट्राफिक प्रहरीसँग ‘लेनदेन’ (भ्रष्टाचार) गरेर उम्किने प्रयास गर्न सक्छन्, जसले सडकमा सुशासन होइन, नयाँ विकृति निम्त्याउन सक्छ। कानुन मस्यौदामै रहेकाले संसद्मा यसको व्यवहारिक पाटोबारे व्यापक छलफल हुन आवश्यक देखिन्छ।

तपाईंको प्रतिक्रिया