मैदानमा अप्रत्याशित हार, मैदान बाहिर चरम व्यवस्थापकीय लापरबाही: सेनेगल फुटबल भित्रको आन्तरिक कलह सतहमा

 असार २२, २०८३

✍ लेखा खबर संवाददाता


मैदानमा अप्रत्याशित हार, मैदान बाहिर चरम लापरबाही: सेनेगल फुटबल भित्रको आन्तरिक कलह सतहमा

काठमाडौँ, असार २२ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत बेल्जियमविरुद्धको खेलमा अप्रत्याशित हार ब्यहोरेको सेनेगलको राष्ट्रिय फुटबल टोली मैदान बाहिर पनि गम्भीर व्यवस्थापकीय सङ्कटमा फसेको छ। प्रतियोगिताबाट बाहिरिएपछि स्वदेश फर्कने तयारीमा रहेको सेनेगाली टोली उचित व्यवस्थापनको अभावमा अमेरिकाको सिएटलमा अलपत्र परेको छ।

सेनेगलको सार्वजनिक सञ्चारमाध्यम RTSSeneNews का अनुसार, सेनेगल फुटबल महासङ्घ (FSF) ले खेलाडी तथा खेल अधिकारीहरूका लागि घर फर्कने हवाई टिकटको पूर्वबुकिङ नगरेका कारण यो समस्या सिर्जना भएको हो।

विमानस्थलमा अलपत्र परेपछि होटल फिर्ता

बेल्जियमसँग ३-२ को संघर्षपूर्ण हार ब्यहोरेपछि सेनेगाली टोली स्वदेश फर्कनका लागि सिएटल विमानस्थल पुगेको थियो। तर, डेल्टा, युनाइटेड वा ब्लु जेट लगायतका कुनै पनि वायुसेवामा महासङ्घको तर्फबाट बुकिङ फेला नपरेपछि टोली विमानस्थलमा घण्टौँ कुर्न बाध्य भयो। अन्ततः कुनै विकल्प नभेटिएपछि टोलीलाई पुनः पुरानै होटलमा फर्काइएको छ। हाल सेनेगल फुटबल महासङ्घले खेलाडीहरूलाई डकार फर्काउनका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग समन्वय गरी आकस्मिक उडानको व्यवस्था मिलाउने प्रयास गरिरहेको बुझिएको छ।

शिविरभित्रको आन्तरिक विवाद सतहमा

अन्तर्राष्ट्रिय खेलकुद सञ्चारमाध्यमहरूका अनुसार सेनेगाली टोलीभित्रको यो सङ्कट हवाई टिकटमा मात्र सीमित छैन, बरु लामो समयदेखिको आन्तरिक असमझदारीको परिणाम हो।

विश्वकप तयारीका क्रममा महासङ्घले टोलीका लागि न्यून बजेटको होटल चयन गरेको र खेलाडीहरूको डाइट व्यवस्थापनका लागि मुख्य ‘सेफ’लाई समेत अमेरिका नलगेको भन्दै खेलाडीहरू असन्तुष्ट थिए। पर्याप्त सुविधाको अभावमा खेलाडीहरूले स्थानीय बजार र अनलाइन डेलिभरीबाट खानेकुरा मगाउनुपरेको रिपोर्टहरूमा उल्लेख छ।

यसका साथै, महासङ्घले खेलाडीहरूलाई पूर्वघोषित ‘आफ्कोन’ (AFCON) र विश्वकप छनोटको बोनस रकम अझै भुक्तानी नगरेको र मुख्य प्रशिक्षक पापे थियाउलाई विगत ६ महिनादेखि पारिश्रमिक नदिएको विषयले पनि टोलीभित्र तनाव बढाएको थियो। समूह चरणको एक खेलअघि त सम्झौता नवीकरणको मागलाई लिएर प्रशिक्षक र महासङ्घबीच रङ्गशालाको टनेलमै विवाद भएको समाचार बाहिरिएको थियो।

समाजवादको भेषमा सरकारी लुटतन्त्र: शिक्षामा ३% ‘समता शुल्क’ थपेर मध्यमवर्गको ढाड भाँच्ने खेल!

मुख्य खेलाडीद्वारा सन्यासको घोषणा

मैदान बाहिरको यही आन्तरिक कलहको प्रत्यक्ष असर बेल्जियमविरुद्धको महत्त्वपूर्ण खेलमा समेत देखियो, जहाँ सेनेगलले ८५औँ मिनेटसम्म २-० को अग्रता बनाएर पनि अन्तिम समयमा लगातार गोल ब्यहोर्दै पराजय भोग्नुपर्‍यो।

खेललगत्तै टोलीका मुख्य मिडफिल्डर पापे गुएले सामाजिक सञ्जालमार्फत वर्तमान प्रशिक्षण टोली र व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टोलीबाट तत्कालका लागि सन्यासको घोषणा गरेका छन्। उनले लेखेका छन्, “जबसम्म यो व्यवस्थापन र कोचिङ स्टाफ पदमा रहन्छ, म राष्ट्रिय टोलीमा उपलब्ध हुने छैन।”

यसअघि मार्च २०२६ मा अफ्रिकन कप अफ नेशन्स (AFCON) को उपाधि विवादमा परेसँगै दबाबमा रहेको सेनेगल फुटबल महासङ्घका लागि यो व्यवस्थापकीय कमजोरी र खेलाडीहरूको विद्रोहले थप नैतिक सङ्कट पैदा गरिदिएको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?