आत्मदाह प्रयास गरेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने, भारत लैजाने तयारी पूरा भए पनि तत्काल नलगिने

 असार २६, २०८३

✍ लेखा खबर संवाददाता


गणेश नेपालीको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौँ, असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई सरकारले तत्काल उपचारका लागि भारत नलैजाने भएको छ। वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेकाले यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् बढी जोखिम हुने चिकित्सकहरूले सुझाव दिएका हुन्।

यसअघि, उनको उपचारमा संलग्न चिकित्सकहरूको सुरुवाती सल्लाहकै आधारमा सरकारले उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो।

रातभर खटिएका थिए गृहमन्त्री

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। उनको जीवन रक्षाका लागि सरकारले हवाई उद्धार (एयर एम्बुलेन्स) को समेत बन्दोबस्त गरिसकेको थियो भने उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने घोषणा गरिएको थियो।

उनलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ रातभर सडकमा खटिएर नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई परिचालन गरेका थिए। भारतको विमानस्थलबाट एम्स अस्पतालसम्म लैजानका लागि दिल्लीस्थित नेपाली दूतावासमार्फत त्यहाँ पनि सबै बन्दोबस्त मिलाइइसकेको थियो। तर, अन्तिम समयमा स्वास्थ्य अवस्था बाधक बनेपछि उक्त योजना तत्कालका लागि स्थगित गरिएको हो।

२१ चिकित्सकको टोली जीवन रक्षामा व्यस्त

हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ जना स्वास्थ्यकर्मीहरूको विशेष टोली उनको उपचारमा चौबीसै घण्टा खटिएको छ। उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर र प्रा. डा. रविराम श्रेष्ठ लगायतका विशेषज्ञहरू हुन्। चिकित्सकहरूका अनुसार हाल नेपालीको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन विशेष औषधिहरू चलाइँदैछ।

नेपालीको स्वास्थ्य अवस्था स्थिर हुनासाथ उनलाई दिल्ली लैजाने तयारीका साथ गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै ‘स्ट्यान्ड बाइ’ (तयारी अवस्थामा) खटिएका छन्।

१५ बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्मकैद: वकिलहरू भन्छन्, “हत्या गर्ने तीव्र भोक थियो”

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?