मल नपाएर भारत पुगेका सर्लाहीका दुई किसान दाजुभाइ भारतीय जेलमा
काठमाडौँ, असार २७ । धान रोप्ने सिजन सकिन लाग्दा समेत नेपालका किसानले रासायनिक मल पाउन सकेका छैनन्। “अब छिट्टै मल आउँछ” भन्दै मन्त्री र सरकारले आश्वासन दिएको हप्तौँ बितिसक्दा पनि सङ्घर्ष गरिरहेका किसानका हात खाली नै छन्। यही अभावका बीच आफ्नो साढे २ बिघा खेत जोत्न मल नपाएर भारतीय बजार पुगेका सर्लाही मलङ्गवाका दुई दाजुभाइ ६० वर्षीय नगेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंह अहिले भारतीय जेलको चिसो भुइँमा दिन काट्न बाध्य छन्।
मल ल्याउँदा ‘तस्करी’ को मुद्दा:
गएको जुलाई १ मा भारतीय बजार सोनबर्षाबाट २ बोरा युरिया र ६ बोरा डीएपी मल किनेर फर्कने क्रममा उनीहरूलाई भारतीय कृषि विभाग र सीमा सुरक्षा बल (SSB) को टोलीले नियन्त्रणमा लिएको थियो। आफ्नै खेतका लागि ल्याएको मललाई ‘तस्करी’ को संज्ञा दिँदै भारतीय प्रशासनले उनीहरूलाई डुमरा जेलमा कोचेको छ र अदालतमा मुद्दा अगाडि बढाइएको छ।
देशभर मलको हाहाकार, सीमामा सास्ती:
यो पीडा केवल सिंह दाजुभाइको मात्र होइन, मधेस प्रदेशदेखि सुदूरपश्चिमसम्मका हजारौँ नेपाली किसानको प्रतिनिधि कथा हो। देशका सहकारी र डिपोहरू रित्तिएका छन्, जसका कारण धेरै किसानले मल बिना नै धान रोपाईं गरिरहेका छन् भने कतिपयको रोपाईं नै रोकिएको छ। अघिल्ला वर्षहरूभन्दा यसपालि भारतीय सुरक्षा बलले नाकामा कडा गरेपछि लुकिछिपी मल ल्याउन खोज्ने किसानहरू पक्राउ पर्ने र सास्ती खेप्ने क्रम बढेको छ।
नयाँ र युवा नेतृत्व दाबी गर्ने सरकारले काठमाडौँको सत्ता राजनीतिमा ‘देश बनाउने’ भाषण छाँटिरहँदा, सिमानाका नागरिक र देशको मेरुदण्ड मानिने किसानले भोग्नुपरेको यो सास्तीले राज्य संयन्त्रको लाचारीलाई छरपष्ट पारिदिएको छ।

तपाईंको प्रतिक्रिया